९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लकडाउनको विभिन्न मोडालिटी तयार, सीमा नाका र हवाई उडान भने नखुल्ने



काठमाडौं ।
सरकारले वैशाख २५ गते पछि लकडाउनको स्वरुप बदल्ने भएको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको स्वरुप बदल्नेबारे आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ ।

कृषि मन्त्री घनश्याम भुसालका अनुसार लकडाउनको स्वरुप फेर्ने गरी आन्तरिक गृहकार्य अघि बढाउनेबारे मन्त्रिपरिषद्मा चर्चा भएको छ ।

भुसालका अनुसार लकडाउनकै कारण कोरोनाको जोखिम बढ्न नपाएको निचोडसहित मन्त्रिपरिषद्ले तत्काललाई अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान भने नखोल्ने निचोड निकालेको छ ।

सरकारले लकडाउनको स्वरुप परिवर्तन गर्न कोरोना संक्रमणको अवस्था हेरेर गाढा रातो, रातो, पहेंलो र हरियोसहित चार जोन बनाउने भएको छ । लकडाउन खोल्न जिल्लाहरुमा देखिएको जोखिमको आधारमा गाढा रातो, रातो, पहेंलो र हरियो गरी चारवटा सूचकमा बाँड्ने र त्यसैको आधारमा क्रमशस् अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्याउन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयले बनाएको मस्यौदामा अतिउच्च र उच्च जोखिमलाई पूर्ण लकडाउन गर्ने र सामान्य जोखिमलाई आंशिक रुपमा बन्दाबन्दी गर्ने उल्लेख छ । यस्तै कोभिड १९ रोकथामका लागि कर्फ्यु, पूर्ण लकडाउन र आंशिक लकडाउन लागू गर्न सकिने भनिएको छ । कर्फ्युमा के गर्ने ? पूर्ण लकडाउनमा के गर्ने? आंशिक लकडाउनमा के के सेवा सञ्चालन गर्न दिने ? भन्नेसमेत मस्यौदामा उल्लेख गरिएको छ ।

सामान्य जोखिमयुक्तलाई पहेंलो, उच्च जोखिमयुक्तलाई रातो र अतिउच्च जोखिमयुक्तलाई गाढा रातो सूचकमा राखेर लकडाउनको मोडालिटी तयार पारिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७ आइतबार ००:००  २ : ११ बजे