बिष्णु कुमार आले, अर्घाखाँची ।
जंगली च्याउ खाएर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । अन्य एकै घरका ३ जना सिकिस्त घाईते छन् । घर नजिकै जंगलबाट ल्याएको च्याउ खाँदा अर्घाखाँची भुमिकास्थान ६ खिल्जी निवासी ३२ बर्षीय रामकला महत्राको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।
च्याउ खाएर बिरामी हुनेमा मृतकको ७ बर्षीय छोरी बिपा महत्रा, सासु आमा ६० बर्षीय लालसरी महत्रा र २७ बर्षीय देउरानी लक्ष्मी महत्रा रहेका छन् । उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
बैशाख १७ गते दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि स्वास्थ्यमा सामान्य समस्या आएपछि बैशाख १८ गते स्थानीय मेडिकलमा उपचार गरेका थिए । पुनः १९ गते राति च्याउ खाए पछि लगातार पखाला लाग्ने र बान्ता आएपछि उनीहरुलाई शनिबार बिहान सन्धिखर्क अस्पतालमा ल्याईएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारका लागि बुटवल रिफर गरेको थियो । मृतक रामकलाका ससुरा डोमबहादुरले च्याउ नखाएको पाइएको छ । ‘जंगलको च्याउ नखान भन्दा परिवारले नमानी खाएपछि बिरामी परेको ससुरा डोमबहादुरले बताए ।
मृतक महत्राको सवलाई शनिबार नै जिल्ला अस्पताल ल्याईएको थियो । शवलाई अहिले जिल्ला अस्पताल सन्धिखर्कमा पोष्टमाट्म पछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया