७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बाणगंगाको गजेहडामा लक डाउनको ठाडै उल्लङ्घन, किन भयो यसरी सयौँको भीँड ? (भिडिओ)



मायादेवी अनलाइन, चारनम्बर ।
लकडाउनको पटक पटक उल्लङ्घन हुँदै आएको वाणगंगामा बुधबार पनि पुनः उल्लङ्घनको घटना दोहोरिएको छ । कोरोना भाइरसको बढ्दो जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउन कपिलवस्तुको वाणगंगामा कार्यान्वयन पक्ष फितलो देखिदै आएको छ । लकडाउन कार्यान्वयन गराउन प्रहरीलाई दैनिक जसो हम्मे हम्मे पर्ने गरेको छ भने पटक पटक सम्झाई बुझाई गर्दा प्रहरी दिक्क भएका छन् ।

सोमबार मात्र चारनम्बर चोकमा बृद्धभत्ता वितरण गर्ने भन्दै लकडाउन उल्लङ्घन भएको विषयलाई मायादेवी अनलाइनले प्राथमिकताका साथ प्रकाशन गरेको थियो । त्यो घटना सेलाउन नपाउँदै बुधबार एकाविहानै गजेहडामा सयौं व्यक्ति उपस्थित भएर लकडाउनको उल्लङ्घन गरे ।

झण्डै ५ सय जति सर्वसाधारण जम्मा भएर देखिएको जात्राले कोरोनाको महामारी भएको अहिलेको समयमा झनै त्रास बढाएको छ । गजेहडामा अवस्थित जनसेवा कृषि बहुउद्देश्यीय सहकारी संस्थाले रासायनिक मल वितरण गर्दैछ भन्ने सुने लगत्तै वाणगंगाबासी एकाएक गजेहडामा जम्मा भएका हुन् ।
यो खबरको विशेष सुत्रबाट सूचना पाएपछि हाम्रो मायादेवी टोली लगत्तै गजेहडा पुगेर बुझ्ने प्रयास गरेको थियो । त्यहाँ पुग्दा भीँड तितरवितर भइसकेको थियो भने केही सर्वसाधारण बाटोभरी लामवद्ध थिए ।

त्यसपछि हामीले सर्वसाधारणसंग बुझ्दा मल लिन विहानै देखि लाम लागेको पायौँ । स्थानीय शिक्षक कमल पोख्रेलका अनुसार विहान ५ बजेदेखि ८ बजेसम्म मानिसको ठुलो भीँड रहेको बताउनु भयो । लक डाउनको बेला भएको यो भीँडले कोरोनाको त्रासको वातावरण सिर्जना गरेको उहाँले बताउनु भयो ।

बुधबार मल बाँड्ने भन्ने खबर गरेपछि हामी विहानैदेखि लाइनमा बसेका थियौँ, एक जना किसानले भन्नुभयो “मल पाइन्छ भन्नेबेला सहकारीका संचालकहरु सटर बन्द गरी टाप कसे ।”

सहकारीका संचालक र कर्मचारी यो समस्या समाधान कसरी गर्ने भन्ने छलफलमा निस्केको भन्ने थाहा पाए पछि आफूहरु त्यहाँबाट निस्केको ती किसानले मायादेवी अनलाइनलाई बताउनुभयो । केही किसानले भने मल वितरणमा भेदभाव र अनियमितता भएको बताए ।

मलको लागि सहकारीले टोकन बाँडे पनि ढिला आएकाले मल चाँडै पाएको र टोकन लिएर विहान ५ बजेदेखि लाइनमा बसेकाले मल नपाएको भनेर गुनासो पोखे । त्यसपछि मायादेवी टोली संचालक खोज्दै दक्षिण झुँगामा रहेको सहकारीको गोदाममा पुग्यो । त्यहाँ पुग्दा विहानको घटनाले संचालकहरु समस्या समाधान गर्ने निकास खोज्न वैठक बसिरहनु भएको थियो । यस विषयमा गजेहडाको प्रहरी विटलाई जानकारी दिए पनि भीँड नियन्त्रण गर्न नसकेको सहकारीका संचालकले बताएका छन् । यता स्थानीय सरकारले पनि यस विषयमा पछि मात्र थाहा पाएको बताइएको छ । मल बाँड्ने कुरा थाहा पाए पनि यतिका मान्छे जम्मा भएको खबर पछि मात्र थाहा पाएको नगरपालिकाले बताएको छ ।

त्यसपछि हामीले मलको विषयमा बुझ्दा सहकारीका अध्यक्ष दोर्णराज सुवेदीले मल बाँड्ने कुरा सही भएको र सदस्यहरुलाई मल लिनको लागि बुधबार आउन आग्रह गरेको बताउनु भयो । त्यसपछि हामीले लक डाउनको बेला यो त ठिक भएन न नि ? भनेर प्रश्न गर्दा आफूहरु पनि मानिसको सयौँको भीँडले अचम्ममा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “हामीले यस्तो हुन्छ होला भनेर कल्पना सम्म गरेका थिएनौँ । मानिसहरु कहाँकहाँबाट जम्मा भए यतिका थिरै । अचम्ममा परेका छौँ । आफूहरुले एक पटकमा २० । २५ जनालाई सामाजिक दुरी कायम गराएर लाइनमा राखि मल बाँडिरहेका थियौँ । तर पछि यसरी किसान दाजुभाई दिदीवहिनी आउनु भएको थियो कि सम्हाल्नै सकेनौँ ।”

‘सामाजिक दुरी कायम गर्न भनियो । लाइन पनि बनाइयो । त्यो पनि कायम भएन । हुल नियन्त्रण हुने छाँटकाँट देखिएन’ उहाँले भन्नुभयो, त्यसपछि मल बाँड्ने काम बन्द गरी सटर बन्द गर्यौँ । सुवेदीले विहान केही किसानलाई मल बाँडिएको तर भेदभाव र अनियमितता भने नगरेको बताउँदै त्यो झुट रहेको बताउनु भयो । उहाँले किसानकै समस्या समाधानका लागि उहाँहरुकै आग्रहमा यसो गरिएको बताउनु भयो ।

सुवेदीले अब बैठक बसेर लक डाउन पछि मल बाँड्ने मापदण्ड बनाइने र पुनः फेरि किसानलाई खबर गर्ने बताउनु भयो । उहाँले आफूहरुसंग मल भएकाले चिन्ता नगर्न आग्रह गर्दै कुपन पाएकाभरीले मल पाउने गरी सहकारीले निर्णय गर्ने बताउनु भयो । मल वितरणमा कुनै अनिमितता नभएको भन्दै ढुक्क रहन किसानलाई बताउनु भएको छ ।

अध्यक्ष सुवेदीले बिभिन्न विजवृद्धि लगायतका कार्यक्रम पनि सहकारसिंग भएको हुँदा यस वर्ष किसानले राम्रो धानको बिऊ खेतमा लगाउन पाउने बताउनु भयो । सहकारीका कारण एकाविहानै भएको भीँडले राम्रो सन्देश नदिएको भन्दै किसान दाजुभाई दिदीवहिनीलाई लक डाउनको पूर्ण पालना गर्न पनि आग्रह गर्नुभयो ।

मायादेवीले लक डाउन भएदेखि नै यस्ता घटनामा खबरदारी गर्दै आइरहेको छ । तपाईको गाउँघरमा पनि यस्ता गतिविधि भएका छन् भने तुरुन्त हामीलाई सम्पर्क गर्नुहोला । यो घटना सम्बन्धि विस्तृत भिडियो युटुभमा मायादेवी टिभी सर्च गरी भेट्नु हुने छ भने मायादेवी अनलाइन डटकम नामक फेसबुक पेजमा पनिसजिलै पाउनु हुने छ ।

तलको लिंक क्लिक गरी हेर्नुहोस् पुरा भिडिओ

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ७ : ३३ बजे