काठमाडौं ।
बहराइनमा थप ७७ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ । मंगलबारसम्ममा जम्मा १२६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।
यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको पनि उहाँले बताउनुभयो ।
कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै क्वारेण्टीन बनाउने गरेको र त्यहाँसम्म दूतावासलाई पनि बहराइनले पहुँच दिएको छैन ।
दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।
खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा अहिलेसम्म १८९ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १८० जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।
अहिलेसम्म बहराइनमा १२६, यूएईमा १२, साउदीमा ४, कुवेतमा २९, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा १८९ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।
प्रतिक्रिया