काठमाडौं ।
राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् ।
पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्णय पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्याएर प्रचण्ड–नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ ।
‘संसदीय दलमा बहुमत पुग्छ भन्नेमा उहाँहरू ढुक्क देखिनुहुन्छ, जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ,’ मंगलबार बालुवाटार भेलामा सहभागी एक सांसदले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।
नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।
प्रतिक्रिया