मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन कपिलवस्तु उद्योग वाणिज्य संघले खेलेको भूमिका सराहनीय रहेको बैठकले ठहर गरेको छ । संघको मंगलबार बसेको बैठकले लकडाउन अवधिभर कोरोनाको नियमित सचेतना, अत्यावश्यक खाद्यबस्तुको विक्री वितरण, बजार अनुगमन, राहत वितरणमा समन्वय लगायतको काम गरेको समिक्षा गर्दै लकडाउनको पूर्ण पालना भएको जनाएको छ । सरकारले वैशाख २५ सम्म लकडाउन जारी राखेकाले यसलाई व्यवस्थित बनाउदै सबै नागरिकलाई सुरक्षित रहन सवैलाई आग्रह गरेको छ ।
बैठकले लकडाउन अवधिको समिक्षा गर्दै विगतमा जस्तो अत्यावश्यक सेवाका पसलहरु दैनिक विहान ३ घण्टा संचालन गर्ने निर्णयलाई यथावत गरेको छ । पछिल्लो समय लकडाउनको मौका छोपी कालो बजारी गरेको भन्ने गुनासो आएकोले अनिवार्य रुपमा व्यवसायीलाई मूल्यसूची राखेर विक्री वितरण गर्न निर्देशन दिएको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
संघले शुरुदेखि नै व्यवसायीलाई मूल्यसूची राखेर कारोवार गर्ने अभियान चलाउदै आएकाले लकडाउनका बेला त्यसलाई अझ अनिवार्य गर्नुपर्ने बताइएको छ । वाणगंगा नगरपालिकाले वितरण गरेको राहतमा कपिलवस्तु उद्योग वाणिज्य संघले नियमित समन्वय र सहकार्य गर्दै राहत वितरण कार्य भइरहेकोले नगरभित्र कोही व्यक्ति भोकै बस्नु पर्ने अवस्था आउन नदिने उपप्रमुख चक्रपाणी अर्यालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संघले वाणगंगा नगरपालिकाको कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । स्थानीय स्तरमा विभिन्न संघसंस्थाले राहत रकम जम्मा गरेपनि कपिलवस्तु उद्योग वाणिज्य संघको एक कार्यदलले आवश्यक गृहकार्य गरी सक्दो आर्थिक सहयोग गर्ने जनाएको छ । त्यस्तै सामाजिक सुरक्षा वितरणमा सहज बनाउँदै सम्वन्धित पक्षलाई सामाजिक दुरी कायम गरेर भत्ता वितरण सुचारु राख्नुपर्ने बताएको छ ।
साथै वैठकले लामो समयदेखिको लकडाउनका कारण व्यापार व्यवसाय र कारोबार ठप्प हुँदा घर भाडा तिर्न समस्या परिरहेको बेला सरकारले घरधनीलाई घरभाडा नलिन गरेको आग्रहलाई संघले पनि आफनो क्षेत्रमा अनुरोध गर्ने निर्णय गरेको संघका सचिव मनोज पौडेलले जानकारी दिनुभएको छ ।
वैठकमा वाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, संघका सचिवालय, पदाधिकारी, सदस्य, सल्लाहकार लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया