काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसको आग्रह गरेका छन् ।
राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावनाअनुकूल नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रस्ट देखिएको भन्दै राणाले यस्तो प्रस्ताव आज ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।
“राष्ट्रपतिले प्रदर्शन गर्दै आउनुभएको पार्टी पक्षधरताको क्रम अध्यादेश जारी र खारेजी प्रकरणबाट गुट तहसम्म कायम रहेको प्रमाणिक रूपमा पुनःपुष्टी भएको छ । तसर्थ राष्ट्राध्यक्ष कुनै पनि पार्टीको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे छलफल र बहस प्रारम्भ होस् भन्ने आग्रह गर्दछु,” राणाले लेखेका छन्, “नेपालको संविधानले राष्ट्रपति पदलाई संविधानको संरक्षक एवं कुनै पार्टी विशेषप्रति कुनै मोह नराख्ने अभिभावकीय संस्थाको रूपमा परिभाषित गरेको छ, तदनुरूप आचरणको अपेक्षासमेत राखेको छ । तर, राष्ट्रपतिको आचरण र क्रियाकलाप संविधानको मर्म र भावनाअनुरूप पटक्कै देखिएको छैन ।”
महामारीको संकटमा समेत सत्तारूढ नेकपा र सरकारलाई आमजनताको चासो नभएको भन्दै उनले चिन्ता व्यक्त गरे । शक्तिसंघर्षका कारण जनता अभिभावकविहीन बनेको राणाको आपत्ति छ ।
“सत्तासंघर्षका कारण नेकपा र सरकारको सम्पूर्ण ध्यान र ऊर्जा बालुवाटार, कोटेश्वर, भैंसीपाटी, खुमलटार वरिपरि घुमिरहेको छ,” उनले ट्विटमा लेखेका छन्, “राज्यसत्ता नै शक्तिसंघर्ष र व्यवस्थापनमा एकोहोरो लागेपछि कोभिड–१९ विरुद्धको लडाइँ अभिभावकविहीन बनेको छ । महामारी, जनसरोकार प्राथमिकता नबन्नु, चिन्ताको विषय भएको छ ।”
प्रतिक्रिया