८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भारतमा कोरोनाको फैलावट तीव्रः एकै दिन ५८ को मृत्यु, १५ सय बढी संक्रमित



काठमाडौं ।
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय नाघेको छ । सोमबार मात्रै कोरोना संक्रमणबाट भारतमा ५८ जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ सय ३९ पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

त्यहाँ संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ । भारतमा सोमबार मात्रै १५ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म भारतमा सात हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

कोरोनाले आक्रान्त युरोपका विभिन्न मुलुक र अमेरिकामा यसको संक्रमणदरमा कमी आउँदै गए पनि भारतमा भने संक्रमण फैलिँदै गएको छ ।

भारतमा सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमण फैलिएको छ । त्यसपछि राजधानी नयाँ दिल्ली कोरोना संक्रमणबाट प्रभावित छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न भारतमा एक महिनादेखि लकडाउन छ । गत मार्च २५ देखि सुरु भएको लकडाउन मे ३ सम्म जारी रहने घोषणा सरकारले गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  १० : १६ बजे