मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टीको आज सचिवालय वैठक बस्दै छ । पछिल्ला केही दिनदेखि नेकपामा संकट गहिरिँदै गएपछि त्यसलाई अन्त्य गर्न आज वैठक बस्न लागेको हो । वैठकको समय भने तय भएको छैन । तर को निकास भेटिने अझैसम्म कुनै संकेत देखिएको छैन। प्रधानमन्त्री केपी ओलीले संकट समाधानका लागि कुनै ठोस पहल गर्ने वा पार्टीलाई मिलाएर लैजान ठोस प्रस्ताव नल्याएपछि समाधानको बाटो भेटिने हो या होइन नेताहरुले केही भन्न् सक्ने अवस्था छैन ।
एक नेताले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओली भएकाले समस्या समाधानको बाटो स्वयम् प्रधानमन्त्रीले खोज्नु पर्ने मायादेवी अनलाइनलाई बताउनु भयो । सहमतिको कुनै सम्भावना नदेखिए पनि प्रधानमन्त्री ओलीले आजको लागि सचिवालय बैठक डाक्नु भएको हो । अब त्यही छलफलले अगाडिको बाटो तय गर्नेछ। पार्टीका २० जना स्थायी समिति सदस्यले बैठक माग गर्दै दुवै अध्यक्षलाई पत्र काटिसकेका छन् ।
पछिल्ला गतिविधिले पार्टी र सरकार दुवैलाई बदनाम गराएकाले नेपाल समुह ओलीलाई सरकारबाट हटाउने सुरमा रहेको छ भने ओली सरकारबाट नहट्ने बरु केही शक्ति बाँडफाँड मिलाएर नेपाललाई मुख्यमन्त्री लगायत केही ललीपप दिएर मनाउने योजनामा रहेको जनाइएको छ । प्रधानमन्त्री ओली भने प्रचण्डलाई जसरी पनि एक्ल्याउने र नेपाललाई साथ लिने योजनामा रहेको पूर्व माओवादी पक्षको आरोप छ।
ओलीले पार्टी र सरकार दुवै छोड्नु पर्ने बताउँदै आएको नेपाल समुह भने हिजो भएको ओलीसंगको एक्लाएक्लै छलफलपछि केही गलेको जस्तो देखिएको छ । ओलीलाई सरकारबाट हटाउने वित्तिकै पार्टी फुट्ने हो कि भन्ने चिन्ताले नेपाल केही गलेको बताइएको छ ।
यता प्रचण्ड समुह भने ओली र नेपालको गतिविधि अनुसार निर्णय लिने दाउमा छन् । उनले हिजो वरिष्ठ नेता झलनाथ खनालसंग भेट गरेका थिए । प्रचण्ड ओलीलाई हटाउने र नेपाललाई प्रधानमन्त्री बनाएर आफू पार्टीको अध्यक्ष बन्ने दाउमा छन् । दाहालले सोमबार नै पार्टी एकता गरेर गल्ती गरेको महसुस गरेको समाचार बाहिर आएपछि नयाँ तरंग पनि सिर्जना गरेको छ ।
समितिका एक सदस्यले प्रधानमन्त्री ओली समस्या समाधान गर्नेतर्फ लाग्नुभन्दा पनि प्रचण्ड र नेपालबीचको एकता भाँड्न लागि परेका आरोप लगाएका छन् । ओलीले आफू र नेपाललाई भाँडेर एक्ल्याउनेतर्फ अघि बढे कडा ढंगको निर्णय लिन बाध्य हुने बताएका पनि एक श्रोतले मायादेवी अनलाइनलाई बताएका छन् ।
ओली सचिवालय वैठकबाट समस्या समाधान गर्ने तर स्थायी वैठक आवश्यक नभएको पनि तर्क गर्दै आउनु भएको छ ।
प्रतिक्रिया