मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका सांसदहरुले लकडाउन लम्बिदै जाँदा जिल्लाको सामान्य आर्थिक गतिविधीलाई चलायमान बनाउनुपर्ने सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राखेको वैठकमा जिल्लाका सांसदहरुले कृषि, विकास निर्माण र आर्थिक गतिविधिलाई सुचारु गर्नुपर्ने सुझाव दिएका छन् ।
लकडाउनकै समयमा सामाजिक दुरी कायम राख्दै खेतीपातीको समय शुरु भएकाले कृषि उत्पादकत्व, जिल्लाको तरकारी विक्री वितरणमा सहज र अधुरा विकास निर्माणका कार्यलाई अघी बढाउनुपर्ने बताइएको छ । स्थानीय स्तरमा विकास निर्माणका गतिविधिलाई स्थानीय स्तरमा रहेका मजदुरको प्रयोग गरी आर्थिक गतिविधि बढाउन सहज हुने समेत बताएका थिए ।
चैत्र ११ देखि सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउनलाई सफल बनाउन प्रहरी प्रशासनले खेलेको भूमिका सराहनीय भएको उल्लेख गर्दै सांसदहरुले सामाजिक दुरी कायम राखेर आर्थिक गतिविधीलाई सुचारु गर्नुपर्ने सुझाएका छन् । वैठकमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, व्यवसायी र लकडाउनको पालना गर्नुहुने आमनागरिकलाई प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले धन्यवाद समेत व्यक्त गरेका छन् ।
वैठकमा संघीय सरकारको निर्देशनलाई पालना गर्नुपर्ने बताउदै प्रजिअ पौडेलले लकडाउनलाई उल्लंघन गर्न नमिल्ने बताएका छन् । उनले लकडाउनको मर्मलाई असर नपर्ने गरी काम अघि बढाउन स्थानीय तहमा समन्वय गरेर जाने बताए । लकडाउनका बेला हालसम्म कार्यालयले अति आवश्यक कामका लागि ७ सय पास जारी गरेको छ ।
३५ दिनदेखिको लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदै गएकाले भारतीय सिमा नाकालाई अझ कडाई गरेर निगरानी बनाउनुपर्ने सांसदहरुले जोड दिएका छन् । उनीहरुले सिमा सुरक्षामा विशेष ध्यान दिदै उच्च सतर्कता अपनाउनुपर्ने बताए । सिमा नाकामा भारतीय गाडी नेपाल प्रवेश गर्दा कोरोना संक्रमण फैलन सक्ने बताउदै स्वास्थ्य परिक्षण सहितका आवश्यक सावधानी अपनाउनु पर्ने बताइएको छ ।
वैठकमा राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रतिनिधी सभा सदस्यहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाह, अतहर कमाल मुसलमान, प्रदेश सभा सदस्यहरु विष्णु पन्थी, अर्जुन केसी दीर्घनारायण पाण्डे, धर्म बहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोतामे, फैजिया खातुन लगाएतले कपिलवस्तुमा हालसम्म कोरोना संक्रमण नदेखिएकाले त्रसित हुनु नपर्ने बताउदै सतर्कता अपनाएर आर्थिक गतिविधि बढाउन सकिने बताएका थिए । जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत राख्दै महिला र अपाङ्गमैत्री बनाउन समेत सुझाव दिएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, व्यापार संघ तौलिहवाका अध्यक्ष गोपीकृष्ण शर्मा, निर्माण व्यवसायी दिनेश हमाल लगाएतले सुझाव राखेका थिए ।
प्रतिक्रिया