मायादेवी अनलाइन, तौलिहवा ।
लकडाउनका कारण उत्पादित तरकारी बिक्री गर्न नपाएर मारमा परेका कृषकहरुलाई मध्यनजर गर्दै जिल्लाको बुभभूमि नगरपालिका– ९ इमिलिया स्थित एक सहकारीले तरकारी बैंक संचालनमा ल्याएको छ । नगरक्षेत्र भित्र रहेका कृषकहरुले उत्पादन गरको तरकारी खरिद गर्न श्री पुलचोक कृषि सहकारी संस्था लिमिटेडले तीन दिन अघिदेखि तरकारी बैंक स्थापना गरेको हो ।
बिश्वभर फैलिएको कोरोनाका कारण देशमा भएको लकडाउनमा कृषक र उपभोक्ताहरुको सहजतालाई ध्यान दिई तरकारी बैंक स्थापना गरिएको सहकारीका अध्यक्ष कमल अधिकारीले बताए । स्थानीय स्तरमा किसानद्वारा उत्पादित अर्गानिक तरकारी संकलन गरी सिधा उपभोक्तासम्म पुर्याउँदै आएको अधिकारीले बताए ।
तरकारी बैंक संचालनमा ल्याएको तीन दिनमा सहकारीले धनकौली र राजपुरका अगुवा कृषकले उत्पादन गरेका ३२ क्यीन्टल बढी मौसमी र बेमौसमी तरकारी संकलन गरिएको उनले बताए । ‘लकडाउनका बेला कृषक र उपभोक्तलाई दुबै मारमा छन्, बिचौलियाहरुले बढी मुनाफा लिएर तरकारी बेच्ने गरेका छन्’ अध्यक्ष अधिकारीले भने, ‘यस्तोमा कृषक र उपभोक्ता दुबैको हितलाई ध्यान दिइएका छौं ।’
तरकारी किन्नका लागि सहकारीले कृषकहरुको घरमै गाडी पठाउने गरेको छ । यस्तै केही कृषकले आफैले सहकारीमा तरकारी ल्याउने गरेका छन् । खरिद गरिएकोे तरकारी बिक्रीका लागि सहकारीले इमिलियामा रहेको स्थानीय तरकारी ब्यापारीलाई बेच्ने गरिएको छ । ‘बढीमा प्रति किलो ५ देखि १० रुपैयाँ मात्र नाफा लिएर बेच्न ब्यापारीहरुलाई भनेका छौ’ अधिकारीले भने ।
खरिद गरिएको मध्ये २५ क्यीन्टल तरकारी बिक्री भईसकेको छ । कोरोनाका त्रासकाबीच सहकारीले संचालन गरेका तरकारी बंकका कारण आफुहरुले उचित मुल्यमा गुणस्तरीय तरकारी किन्न पाएको इमिलियाका स्थानीय रोमलाल खनालले बताए । नगरपालिकाको धनकौली र राजपुर तरकारी उत्पादनमा ख्याति कमाएको छ ।
लकडाउन यता कृाष्कहरुले उत्पादन भएको तरकारी राम्ररी बेच्न पाएका छैनन् । धनकौलीका अगुवा कृषक बालदीन केवटले सहकारीले संचालन गरेको तरकारी बैंकले कृषकहरुलाई केही भए पनि सहजता थपेको बताए । ‘तरकारी बैकले कृषकरुले तरकारीको उचित मुल्य पाएका छन्’ उनले भने ।
जिल्लामा उत्पादित तरकारीको बिक्रीका लागि प्रदेश सदस्य बिष्णु पन्थीले समेत पहल गरेका छन । पन्थीकै समन्वयमा कपिलवस्तु नगरपालिका– ९ जर्लैया र धनकौलीमा उत्पादन भएका २ टन तरकारी बिक्री भएको छ । यस्तै बुद्धभूमि नगरपालिका मेयर केशव कुमार श्रेष्ठले आफ्नो नगरमा उत्पादन भएको तरकारी अर्घाखाँची र रुपन्देहीमा समेत लैजान पाउने गरी समन्वय थालेको बताए ।
प्रतिक्रिया