८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुद्धभूमिका सबै वडामा राहत बैंक स्थापना, मेयर भन्छनः ‘चुलो बाल्न समस्या भएकाले तुरुन्त रासन पाउँछन’



दीपा महत, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरका सबै वडामा राहत बैंक स्थापना गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी लकडाउनमा विपन्न, गरिब, मजदुर, असहाय र अशक्त मारमा परिरहेको सन्दर्भमा यी वर्गका लागि भनेर बुद्धभूमिले राहत बैंक स्थापना गर्ने भएको हो ।

सोमबार नगरपालिकाकामा बसेको कार्यपालिका बैठकले नगरका सबै वडामा राहत बैंक स्थापना गर्ने निर्णय भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । पहिलो चरणमा २८ सय ५० बढी नागरिकलाई राहत बाँडेर सकेको नगरपालिकाले दोस्रो चरणको राहत अन्तर्गत प्रत्येक वडामा राहत बैंक स्थापना गर्न थालेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

वडामा स्थापना हुने राहत बैंकबाट गरिब, विपन्न, मजदुर, असहाय र असक्त परिवारले दाल, चामल, नुन र तेल निशुल्क प्राप्त गर्न सक्ने उहाँले बताउनुभयो । नगरबाट पहिलो चरणमा वितरण गरिएको राहतमा हुने खाने वर्ग पनि सरकारले दिएको राहत खानुपर्छ भन्ने मान्यताले माग्न आएको र त्यसलाई व्यवस्थापन गर्न गाह्रो भए पछि दोस्रो चरणको राहत कार्यक्रममा फरक ढंगले वितरण गर्न लागिएको उहाँले बताउनुभयो ।

‘पहिलो चरणमा वितरण गरिएको राहतमा राहत लिन नपर्नेले पनि लिए । सरकारको पैसा हो हामीले पनि पाउँनुपर्छ भन्ने देखियो । यसले जनप्रतिनिधिलाई झन्झट दियो । अब वडामै राहत बैंक स्थापना गरेर जसको चुलो बोल्दैन उसलाई पहिचान गर्न सजिलो हुन्छ भन्ने ठानेर राहत बैंकको अवधारणा ल्याएका हौं नगर प्रमुख श्रेष्ठले मायादेवीसंग भन्नुभयो, ‘यसले राहत वितरण थप प्रभावकारी बन्ने विश्वास लिएका छौं ।’

वडामा राहत लिन आउनेहरु वास्तविक गरिब आउने र हुने खानेलाई माग्न आउन लाज लाग्ने भएपछि यसो गरिएको नगरपालिकाले जनाएको छ । ‘राहत वितरणलाई कतिपयले पशुपतिको प्रसादको रुपमा पनि लिए । सबैले पाउनुपर्छ भन्ने मान्यता बढ्यो अब वास्तविक घरमा चुलो बाल्न धौ धौ भएकाहरु राहत बैंकमा राहत लिन आउनेमा हामी विश्वस्त छौं, उहाँले भन्नुभयो ।’

राहत बैंकका लागि चाहिने खाद्यान्न किन्नका लागि टेण्डर आह्वान भैसकेको नगर प्रमुख श्रेष्ठले जनाउनुभयो । दुई तीन दिनमा कानुनी प्रक्रिया पूरा भैसके पछि वडा वडामा राहत दिने उहाँले बताउनुभयो । लकडाउन लम्बिदा मजदुर वर्ग थप मारमा परेकाले दोस्रो चरणको लागि राहत वितरणमा लागेको उहाँले बताउनुभयो ।

जिल्लामा सबैभन्दा फरक काम गरेर चर्चा कमाएको बुद्धभूमिले प्रत्येक वडामा स्थापना गर्न लागेको राहत बैंकबाट विपन्न परिवार बढी भन्दा बढी लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७ सोमबार ००:००  ५ : ३५ बजे