८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लकडाउनको बेला चारनम्बर चोकमा तामझाम, दर्जनौं बृद्धबृद्धा एक ठाम !



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना संक्रमणको महामारी रोक्न सरकारले गरेको लकडाउनको पालना कपिलवस्तुको चारनम्बरमा प्रभावकारी रुपमा नभएको पाइएको छ । लकडाउनको पूर्ण पालना यहाँका नागरिकबाट नभए पछि प्रहरीलाई दैनिक टाउको दुखाईको विषय बनेको छ । सधैजसो प्रहरीले यहाँका नगरबासीलाई सम्झाई बुझाई गरेर लकडाउनको पालना गर्न भनिरहेको छ । तर, कपिलवस्तुको चारनम्बरमा विहान, दिउँसो र साँझ तामझाम चलिरहेको छ ।

सोमबार दिउँसो चारनम्बरमा एउटा अनौठो तामझाम देखियो । सोमबार एकाविहानै भारी बर्षा भएपछि विहानपख मानिसको चहलपहल कम देखिएको थियो । तरपनि इलाका प्रहरी कार्यालय पिपराका प्रहरी जवानहरु ८÷९ बजेको समयमा चारनम्बरमा तैनाथ देखिन्थे । लकडाउन उल्लङ्घन गर्नेहरुलाई यी प्रहरी जवानहरुले सम्झाई बुझाई गरी घर फकाईरहेका थिए । यो क्रम १० बजेसम्म चल्यो ।

दिउँसो एकाएक चारनम्बरका बैंकहरुमा मानिहरुको एकाएक ठूलो भीड लाग्यो । सरकारले आइतबारमात्र १० दिनका लागि लकडाउन थप गरेर बैशाख २५ गतेसम्म पु¥याएको छ । सोमबार मात्रै देशभर लकडाउनको कार्यान्वयन फितलो देखिएपछि सरकारले जिल्ला प्रशासनलाई कडा निर्देशन जारी गर्दै लकडाउनको पूर्ण पालना गर्न परिपत्र गरेको छ । तर, कपिलवस्तु चारनम्बरमा देखिएको तामझामले कोरोना जोखिमलाई नजिकबाट स्वागत गर्न थालिएको हो कि जस्तो देखिन्थ्यो ।

सोमबार दिउँसो चारनम्बरमा बृद्धभत्ताको रकम बुज्न आउनेको भीड लागेको जनाइएको छ । बैंकले बृद्धभत्ता दिने सुनेपछि आफु जसोतसो चारनम्बरसम्म आएको एक बृद्ध बुवाले मायादेवी अनलाइनलाई बताउनुभयो । सार्वजनिक सवारी सञ्चालन नहुँदा अधिकांशले आफ्नै नीजि सवारीमा बोकेर बाबुआमालाई बैंकसम्म ल्याएर आएका थिए । यसले दिनभर चारनम्बरमा सवारी साधन गुडेर बन्द खुलेको हो भन्ने देखाएको थियो भने दर्जन बढी बृद्ध बाबुआमा एकै ठाउँ जुटेर भत्ता बुज्दा कोरोना कसैबाट सरि हाले स्थिती के हुने होला भन्ने तर्फ कसैले सोच्न सकेनन् ।

कोरोनाको संक्रमण बृद्धबृद्धामा बढी हुने र कोरोना लागि हाले निको हुने सम्भावना बृद्धबृद्धामा कम हुने भएकाले बाहिर ननिस्कि घरमै होम क्वारेनटाइनमा बस्नु पर्ने अनिवार्य छ । यो बेला सबैभन्दा बढी बृद्धबृद्धालाई सचेत बन्न विश्व स्वास्थ्य संगठनले भनि रहेको छ ।

कोरोना संक्रमणको बेला सबै बृद्धबृद्धालाई बोलाएर भत्ता दिने काम बैंकले किन गरे भनेर नगरबासीले प्रश्न उठाउन थालेका छन् । भत्ता दिनै परे सामाजिक दुरी कायम गरेर ५÷७ जनालाई मात्र बोलाउन सकिन्थ्यो भन्नेहरु पनि छन् ।

वाणगंगा नगरपालिकाका नगर उप-प्रमुख चक्र अर्यालले नगरबाट बृद्धभत्ताको रकम सबैको खातामा पठाइसकेको जनाउनुभयो । तर, कुन कुन बैंकले भत्ता दिएका छन भन्नेबारे आफुलाई जानकारी नभएको बताउनुभयो । ‘नगरबाट भत्ता पठाइ सकेका छौं, कुन कुन बैंकले भत्ता दिए त्यो थाहा भएन । यो बेला सामाजिक दुरी कायम गर्नै पर्छ उप प्रमुख अर्यालले भन्नुभयो, वडाध्यक्षलाई यो विषयमा अलि बढी थाहा होला के भएको हो ।’ चारनम्बरको गरिमा विकास बैंकमा भत्ता लिन आउनेहरुको सोमबार भीड लागेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण भैहाले यसको औषधि छैन् । यो रोगबाट बच्चे उपाय भनेकै सामाजिक दुरी कायम गर्ने, होम क्वारेनटाइनमा बस्ने र मिचि मिचि साबुन पानीले हात धुने मात्र हो । सोमबार चारनम्बरमा देखिएको मानिसहरुको जात्राले कोरोना भाइरस सरकारलाई लाग्छ हामीलाई होइन भन्ने आभास आफुलाई भएको गजेहडाका सुकदेव थारुले मायादेवीलाई बताउनुभयो ।

विहान, दिउँसो र साँझपख चारनम्बरमा दैनिकजसो मानिसको बाक्लो चहलपहल हुने गरेको छ । कोरोना संक्रमणको जोखिम कम गर्न र लकडाउनको पूर्ण पालना गर्न वाणगंगा नगरपालिकाले पटक पटक सर्वसाधारणलाई आह्वान गरेपनि कसैले नटेरेको नागरिक अगुवाहरु गुनासो गर्छन् । लकडाउनको पालना गर्न प्रहरीले दैनिक सम्झाउनु पर्ने र पटक पटक अटेरी गर्ने परम्पराले गर्दा कोरोनाको जोखिम वाणगंगामा बढ्दै जान थालेको भन्दै स्थानीय प्रशासनलाई थप कडाई गर्न नागरिक अगुवाहरुले माग गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७ सोमबार ००:००  ४ : २६ बजे