मायादेवी अनलाइन, जितपुर ।
कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तु अहिलेसम्म पूर्ण सुरक्षित देखिएको छ । नेपालमा कोरोना भाइरस जोखिम न्यूनिकरणका लागि भएको लकडाउन र यससंगै सुरु भएको कोरोना जोखिम न्यूनिकरणका प्रयासलाई हेर्दा कपिलवस्तु सुरक्षित देखिएको हो । देशभर ४८ जना कोरोना संक्रमित पुष्टि भएको अवस्थामा कपिलवस्तुमा गरिएको दु्रत परिक्षणमा अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण पाइएको छैन् ।
कपिलवस्तुमा अहिलेसम्म ८ सय ७८ जनाको कोरोना द्रुत परिक्षण (आरडिटि) टेस्ट गरिएको छ । जिल्लाका १० पालिकाले तयार पारेका क्वारेनटाइनमा रहेका सबैजनाको परिक्षण गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
शुक्रबारमात्र २० जनाको द्रुत परिक्षण आरडिटि टेस्ट गरिएको छ । हालसम्म परिक्षण गरिएका मध्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएमा कोरोना संक्रमण नभएको भन्ने बुझिन्छ ।
भारतीय सिमानाकासंग जोडिएको कपिलवस्तुमा भारत लगायत अन्य मुलुकबाट आएकालाई क्वारेनटाइनमा राखिएको छ । तिनीहरु सबैजनाको आरडिटि परिक्षण गरिने प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।
शुक्रबार साँझसम्म १० पालिकाले तयार गरेको एक हजार ३२ क्वारेनटाइन बेडमा एक हजार ५४ जना रहेकोमा ८ सय ४२ जना डिस्चार्ज भइसकेको छन् भने शुक्रबार क्वारेनटाइनमा २ सय १२ जना रहेका छन् ।
यस्तै पहिलो चरणको राहत अन्तर्गत कपिलवस्तुका १० पालिकाले २१ हजार ५ सय ५८ बिपन्न पविारलाई राहत बितरण गरिएको छ ।
प्रतिक्रिया