१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

लकडाउनकै समयमा चन्द्रौटा बन कार्यालयले सुकुम्बासीबस्तीमा आगो लगायो (भिडियोसहित)



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको चन्द्रौटा क्षेत्रको एक सुकुम्बासीबस्तीमा डिभिजन बन कार्यालय चन्द्रौटा र स्थानीय प्रशासनले आगो लगाएको छ । बनको जग्गा कब्जा गरेर बसेको भन्दै बन कार्यालयका कर्मचारी, प्रहरी र सशस्त्र प्रहरीका जवानहरुले बस्तीमा आगो लगाउँदै बनेका संरचना भत्काएका छन् ।

शिवराज नगरपालिका वडा नं. ५ को दक्षिण रहटकोल भन्ने स्थानमा बन अतिक्रमण गरी बनेका ६ घरटहरा भत्काइएको डिभिजन बन कार्यालय चन्द्रौटाका प्रमुख दुर्गा कार्कीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । पटक पटक बनको जग्गा खाली गर्न आग्रह गर्दै आएपनि अटेरी गरेपछि शुक्रबार बाध्य भएर घर टहरा हटाउन परेको कार्कीले बताउनुभयो । सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा कब्जा गरेको र लकडाउनको बेला रातारात थप जग्गा कब्जा गर्न थालेपछि यस्तो कदम चालिएको उहाँले स्पष्ट पार्नुभयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले यो विषयमा आफुहरुलाई त्यति बढी जानकारी नभएको बताउनुभयो । ‘घरटहरा प्रशासनले हटाएको हुन सक्छ, पीडितहरुले यो कुराको जानकारी त दिएका थिए । थप बुझेको छैन्, नगर प्रमुख अधिकारीले भन्नुभयो ।’ यो काम सर्वपक्षिय र सर्वदलीय बैठक बसेर भएको आफुलाई जानकारीमा आएको उहाँले बताउनुभयो ।

लकडाउनको बेला सबै घरमा बसिरहेको बेला एक्कासी घर टहरामा आगो लगाएर प्रशासनले विचल्ली बनाएको चन्द्रौटाका युवा उत्तम चौधरीले बताउनुभयो । बिना सुचना बन कार्यालयले एक्कासी सुकुम्बासीको घर भत्काएर गरिबमाथि अन्याय गरेको चौधरीले बताउनुभयो ।

२० बर्ष देखि भोगचलन गर्दै आएको जग्गामा एकाएक आगलागी गर्नु राम्रो नभएको उहाँले बताउनुभयो ।

यता लकडाउनको बेला घरमा आगो लगाएर उठिबास बनाएको भन्दै बन कार्यालय र प्रशासनको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । यो समय घर टहरा हटाउने उपयुक्त बेला नभएको भन्दै विभिन्न व्यक्तिले टिप्पणी गरेका छन् ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ६ : २४ बजे