१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

भेटियो सुसाइट नोट, ‘जिब्रोको क्यान्सरले दुःख दिएकाले आत्महत्या गरें’



दाङ ।
दाङको बबई गाउँपालिका वडा नं. १ गंगटेका वडा सचिव हरिप्रसाद पन्थीले आत्महत्या गर्नु अगाडि लेखेको सुसाइड नोट फेला परेको छ ।

वडा सचिवले आत्महत्या गर्नु पूर्व लेखेको सुसाइड नोटमा आफूलाई जिब्रोको क्यान्सरले दुःख दिएको र त्यसको पीडा सहन नसकेर आत्महत्या गरेको उल्लेख रहेको एक प्रहरी अधिकारीले बताए ।

ती प्रहरी अधिकारीले भने –‘यसमा कसैको दोष छैन, म जिब्रोको पीडा सहन नसकेर यो अवस्थामा पुगेको हुँ, भन्ने कुरा पन्थीले सुसाइड नोटमा लेखेको पाइएको छ।’

कपिलबस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. ४ का बासिन्दा ३६ वर्षीय पन्थीले लोकसेवामा नाम निकालेपछि बबई गाउँपालिकामा खटाइएको थियो । बबई गाउँपालिकाले उनलाई वडा नं. १ को वडा सचिवको रुपमा खटाएको थियो ।

उनी जिल्लाकै विकट मानिने गंगटीस्थित वडा कार्यालयमै बस्दै आएका थिए । वडा सचिव पन्थीले बिहीबार बिहान ८ बजेतिर वडा कार्यालयभित्रै आत्महत्या गरेको खवर पछि प्रहरीले उनका घर परिवारका सदस्यलाई समेत बोलाएर घटनास्थल लगेको थियो ।

पन्थीका अभिभावक र परिवारसँगै गएर ढोका खोलिएको प्रहरीले बताएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ४७ बजे