१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सांसद पन्थीको अगुवाईमा खेर जान लागेको १० टन टमाटर बारीबाटै उठ्यो



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको केवलपुरका किसानको तरकारी बारीमै कुहिन थालेपछि विक्री वितरणको लागि प्रदेश सांसद विष्णु पन्थी अहोरात्र खटिनुभएको छ । सरकारले गरेको लकडाउनको कारण तरकारी विक्रि वितरण गर्न नपाएका कपिलवस्तुका किसानको लाखौं रुपैयाँको तरकारी सुक्न थालेपछि सांसद पन्थी खेतबारीमै पुगेर किन्दिन लाग्नुभएको हो ।

कपिलवस्तु नगरपालिका ९ केबलपुरका किसानको टमाटर, खुर्सानी, लौका, बोडी, घिरौला, करेला, काक्रा लगाएतका तकारी यतिवेला खेतैभरी लटरम्मै फलेको छ । कपिलवस्तु नगरपालिकासंग जोडिएको वाणगंगा नगरपालिका लगायत अर्घाखाँची दाङ्ग जिल्लाको अवरोधका कारण तरकारी विक्री गर्न नपाएर यहाँका किसान चिन्तित भएको स्थानीय घनश्याम चौहानले बताए ।

यतिबेला सांसद पन्थीको अगुवाईमा किसानको बारीमै पुगेर तरकारी किन्दिने भएपछि किसानलाई ठुलो राहत मिलेको छ । शुक्रबार मात्रै किसानको टमाटर बोटमै कुहिन थालेपछि खेर जान लागेको १० टन टमाटर खेतबाटै विक्री भएको छ । केबलपुरका २५÷३० जना किसानको खेतबाटै १० टन टमाटर विक्री गर्ने व्यवस्था मिलाएपछि किसान उत्साहित भएका हुन् । नविकेर खेतमै कुहिन थालेको टमाटर विक्री भएपछि आफु किसानहरुलाई ठुलो राहत मिलेको कृषक गोबिन्दलाल बरईले बताए ।

कपिलवस्तुका किसानको मेहनत अनुसारको मुल्य नपाएको प्रति सांसद पन्थीले चिन्ता व्यक्त गर्नुभएको छ । एकातिर लकडाउनको मारमा आफनो उत्पादन विक्री गर्न नपाएर चिन्तित बनेका किसान र अर्कोतिर भारतबाट निर्वाध रुपमा तरकारी आउदा कोरोनाको त्रास सहित थप मारमा परेको अनुभव सांसद पन्थीसंग छ ।

उता किसानलाई पालिकाहरुमा तरकारी लैजान पनि अवरोध छ भने लकडाउनका कारण तरकारी बारीमै कुहिने मारमा परेका किसानलाई राहत मिल्ने गरी तरकारीको उचित मूल्यमा विक्री गर्ने प्रबन्ध मिलाएको सांसद पन्थीले जानकारी दिनुभयो । दिनहुँ किसानको खेतबारीमा व्यस्त सांसद पन्थीले वुटवलका समाजसेवी तथा व्यवसायीसंग आवश्यक सहकार्य गरेर दैनिक कपिलवस्तुको तरकारी उठाउने प्रबन्ध मिलाउनु भएको छ ।

कपिलवस्तु, बुद्धभूमि र वाणगंगा नगरपालिकाका किसानको तरकारी यतिवेला खेतबारीमै आएर किनेको सिपी शर्माले बताउनुभयो । अष्ट्रिज नेपाल प्रा.लि.का प्रोप्राइटर शर्माले केबलपुरका सवै किसानको १० टन टमाटर शुक्रबारै र केही दिनपछि अर्को १० टन टमाटर उठाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले टमाटर लगाएत अन्य तरकारी पनि लैजाने जानकारी दिनुभएको छ ।

यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत तरकारी खेती हो । धनकौली र चेतरादेईका किसानले व्यवसायीक रुपमा झन्डै १३ सय हेक्टर क्षेत्रफलमा तरकारी खेती गदैं आएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार धनकौलीमा वर्षेनी करिव एक सय ५० मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ ।

उत्पादित तरकारी कपिलवस्तु लगायत अर्घाखाँची, दाङ, प्युठान, बुटवल, पोखरामा समेत विक्रिका लागि जाने गर्दछ । सरकारले लकडाउनको समयमा सुरक्षित तवरले किसानको तरकारी विक्रि वितरण गर्ने व्यवस्था मिलाइ दिए उपभोक्ताले ताजा तरकारी खान पाउनुका साथै किसानको लगानी समेत नडुब्ने सरोकारवाला बताउँछन ।

प्रकाशित मिति : १२ बैशाख २०७७ शुक्रबार ००:००  ३ : २८ बजे