एजेन्सी ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी संघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन् ।
महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड-१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन् । उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुनः सल्किने बताए ।
विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे । उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड-१९ बारे विश्वलाई समयमै सचेत गराएको बताए ।
‘पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,’ जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड-१९ लाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो । मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो ।
महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो ।
‘केही गल्ती नगरौँ हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ । भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।’ भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, ‘प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ।’
त्यसको अर्थ यो महामारी सजिलै बिउँतिन सक्छ । अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ। डब्ल्यूएचओको कामको थुप्रै देशहरूले प्रशंसा गरेपनि डा. टेड्रोसको राजीनामा समेत माग्दै कतिपय अमेरिकी नेताहरूले उनको आलोचना गरेका थिए ।
राजीनामा मागिएको विषयमा प्रश्न सोधिँदा उनले मानिसहरूको जीवनरक्षाका लागि आफू रातदिन काम गर्ने बताए ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए ।
ट्रम्पले कोरोनाभाइरस संक्रमण फैलिरहेको सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाएका थिए।मङ्गलवार पुनस् अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीन र डब्ल्यूएचओमाथि आलोचना दोर्होयाएका छन् ।
विदेशमन्त्री पोम्पेओले पत्रकारहरूलाई भनेका थिए, ‘चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ कोरोनाभाइरसको प्रकोपलाई समयमै सही ढङ्गले डब्ल्यूएचओलाई जानकारी दिएन भन्ने कुरामा हामी स्पष्ट रूपमा विश्वास गर्छौँ।’
प्रतिक्रिया