चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा पर्ने चार नम्बरमा अत्यावश्यक सेवाको लागि खुलेका पसलमा सामाजिक दुरी कायम नहुँदा सर्व साधारण त्रसित भएका छन् ।
अत्यावश्यकीय वस्तु तथा सेवाको सहज आपूर्तिमा सर्वसाधारणलाई समस्या नहोओस् भनेर विहान ७ बजेदेखि १० बजेसम्म पसल संचालन भइरहेको भए पनि किनमेलमा सामाजिक दुरी कायम नहुँदा कोरोना संक्रमणको जोखिम बढेको हो ।
सदाभन्दा विहिबार विहानै त चार नम्बरमा लक डाउन खुलेको हो कि जस्तो भन्नु पर्ने स्थिति थियो । विहानैबाट बाक्लो संख्यामा मोटरसाइकल चलेका थिए भने सडक र पसलमा सर्वसाधारणको ठुलै भिँड देखिन्थ्यो ।
किनमेल हुने तरकारी, दूध, किराना तथा फलफुल पसलमा विहिबार विहान मानिसहरु घचेटाघचट गरेर सामान किन्न ब्यस्त देखिएका थिए । विहिबार माता तीर्थ औँसी भएका कारण पनि मानिसको भीँड बढेको चार नम्बरका एक ब्यापारीले बताए ।
तरकारी किन्न आएका बाणगंगा ४ का राम प्रसाद शर्माले आज मात्र नभएर विहानको समयमा सधैँ भिँड हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, “विहिबार त आमाको मुख हेर्ने दिवस भएर पनि होला अति नै भिँड भयो । मानिसहरु घचेटाघचट गरेर किनमेल गरिरहेका छन् ।” मायादेवीकर्मी पनि विहानै पसलहरुमा छड्के अनुगमनमा पुग्दा कुनै स्थानमा सामाजिक दुरी कायम भएको थिएन ।
ब्यापारीहरु सामान बेच्नमै ब्यस्त देखिएका थिए भने उपभोक्ताले पनि सामाजिक दुरी कायम गर्नु पर्ने नियमबारे बेखबर थिए । यो देखेर चार नम्बर चोकमा ड्युटिमा खटेका एक जना सुरक्षाकर्मीले भने,“खै के भनौँ । जति भन्दा पनि मान्दैनन् । खै यहाँका मानिसलाई के भएको हो ?” उहाँले आफूहरुले पसलेहरुलाई सामाजिक दुरी कायम गराउन पटकपटक निर्देशन दिए पनि अटेरी गरेको बताउनु भयो । उहाँले अब पनि त्यस्तो अवस्था देखिए हप्तामा २ पटक मात्र पसल खोल्नु पर्ने अन्यथा कोरोनाको जोखिम बढ्ने बताउनु भयो ।
विहिबार विहान अत्यधिक भीँड बढेपछि मायादेवीकर्मीले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेका थिए । त्यसपछि प्रहरीको टोली आएर भीँडलाई कम गरेको थियो भने लकब डाउन अवज्ञा गर्नेमाथि कारबाही सुरु गरेको थियो । प्रहरी नीरिक्षक आयूष प्रसाद जोशिले भन्नुभयो, ‘माता तिर्थ औँसी होस् या अन्य जुनसुकै दिवस होस् लापरबाही गर्ने मुलुकको अवस्था छैन ।
अटेरी गर्ने उपभोक्ता र पसले कसैलाई पनि हामी छाड्दैनौँ । लक डाउन अवज्ञा गर्ने माथि लाठी बर्साउनै बाध्य हने छौँ ।’ उहाँले विहिबार विहान चार नम्बरमा अत्यधिक भीड र आवतजावत धेरै भएको गुनासो आएपछि तुरुन्त सुरक्षाकर्मी परिचालन गरेको बताउनु भयो । संगै प्रहरीले माइकिङ गरी लापरबाही नगर्न पनि अनुरोध गरेको थियो । उहाँले अब अन्य समयमा पनि विहान र साँझ टाइट गर्नै पर्ने अवस्था आएको बताउनु भयो ।
प्रहरीले अनावश्यक रुपमा हिँडेका मोटरसाइकल, स्कुटर तथा साइकलमा सवार सर्वसाधारणलाई रोकर सम्झाइबुझाई गरेर पठाएको थियो । आइन्दा लापरबाही गरेमा कडा कारबाही गर्ने पनि प्रहरीले चेतावनी छ । मुलुकभर लक डाउन भएको आज एक महिना पुरा भएको छ । लामो समयको लक डाउन भएका कारण पनि मानिस जानीजानी बाहिर निस्कने गरेको पाइएको छ ।
यता ब्यापारीहरुले सामाजिक दुरी कायम गर्ने सबालमा लापरबाही गरेका छन् । उपभोक्ताहरुको जति नै भिँड भए पनि उनीहरु सामान बेच्नमै ब्यस्त देखिने गर्दछन् । पसलको वरीपरि डोरीले छेकबार गरे पनि त्यो केवल औपचारिकतामा सिमित भएको पाइएको छ । एक जना उपभोक्ताले भने ‘पसल धनीले सामाजिक दुरी कायम नगर्नेलाई सामान दिन्नौँ भने हामी किन भीँड गथ्यौँ र ? ’ सबैलाई हतार हुन्छ । कतिखेर किनेर जाऊँ हुन्छ । के गर्ने ? उहाँले भन्नुभयो ।
चार नम्बरका एक सामाजिक ब्यक्तिले नगरपालिकाले पनि दैनिक उपभोग्य वस्तुको किनमेलमा खासै योजना बनाउन नसकेको बताउनु भयो । नगरले विहान ७ बजेदेखि १० बजेसम्म पसल संचालन गर्न त भन्यो तर ब्यापारीले जति लापरबाही गर्दा पनि, उपभोक्ताले जसरी किन्दा पनि मतलव नै छैन ।
चार नम्बरको अवस्थाले नगरमा कोरोनाको जोखिम बढाउने सन्त्रास भयो । जनप्रतिनिधि र कर्मचारी बाटोबाटै हेर्दै गाडीमा हुईकिहाल्छन् । खै त उपभोक्ताको सहजताको लागि काम गरेको ? उहाँले प्रश्न गर्नुभयो ।
उपभोक्ताले पनि भीड गर्नु आफूहरुको लागि बाध्यता भएको बताएका छन् । यस्तो बेला नगरले दैनिक उपभोग्य वस्तुको सहज आफूर्तिको लागि ठाउठाउँमा पसल निर्धारण गरेर अथवा स्थान निर्धारण गरेर वृहत् रुपमा छुट्टाछुट्टै किनमेलको ब्यवस्था गरिदिए पसल पसल गएर भीँड गर्न पर्ने अवस्था नआउने ठाकुरापुरकी माया न्यौपानेले बताउनु भयो ।
चार नम्बर मात्र होइन बाणगंगाका बोडगाउँ, बनगाई, गजेहडा, पिपरा, वैरिया, ओदारी वरवा लगायतका स्थानमा खुल्ने अत्यावश्यक पसलमा सामाजिक दुरी कायम हुन सकेको छैन । यसले गर्दा कोरोना जोखिम बढेको भन्दै सर्वसाधारण थप चिन्तित बनेका छन् । मुलुकभर दिनप्रतिदिन कोरोनाको संक्रमण बढेकाले त्यसको सम्भावित जोखिमबाट बच्न सबैले अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्नु आवश्यक छ ।
प्रतिक्रिया