९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपामा अस्ताउँदो संगठनात्मक अनुशासन



नारायण खनाल ।
संगठनमा अनुशासनको पालना नभएमा संगठनको एकतामा आँच आउनु र त्यसको कारणले आफ्नो लक्ष प्राप्त गर्न नसक्नु सर्बमान्य नियम नै हो । नेकपाका नेता तथा कार्यकर्ताहरुमा अन्तर्निहित भावना, दृष्टिकोण, विश्वास र ब्यवहारको अध्ययन गर्दा नेतादेखि कार्यकर्तासम्म, अधिकांशले संगठनात्मक अनुशासन पालन गरेकोे भेटिन्न । अहिले त झन संगठनात्मक अनुशासनको अवहेलना गर्न मै प्रतिस्पर्धा गरेको देखिन्छ । जसरी नेकपामा बिभिन्न खाले गुट उपगुट मौलाउँदै छन् त्यसरी नै सिद्धान्त र ब्यबहारमा बिभाजनको रेखा पनि देखिन्छ । नेकपा नेता तथा कार्यकर्तामध्ये अनुशासनको महत्व र ज्ञान नभएको कारणले अनुशासनको उलंघन गर्ने थोरै र जानि बुझिकन आफ्नो निहित स्वार्थ पूरा गर्न अनुशासनको अवहेलना गर्ने धेरै नेता कार्यकर्ता छन् ।

अनुशासनको महत्व तथा ज्ञान नभएको कारण गल्ती गर्ने कार्यकर्तालाई मैत्रीपूर्ण आलोचनाबाट सुधार्न सकिए पनि जानि बुझिकन अनुशासनको अवहेलना गर्ने नेता कार्यकर्तालाई मैत्रीपूर्ण आलोचनासँगै संगठनबाट हटाउने सम्मका कारबाही गर्नुपर्ने हुन्छ तर नेकपामा दोस्रो थरी नेता तथा कार्यकर्ताको बाहुल्यता छ । अझ पार्टी एकीकरण पछिको यो अबस्थामा गलत गर्नेलाई कारबाही त कता हो कता गुट परिवर्तन गर्ने वा हुने डरले पाँडे गाली गर्ने बाहेक कसैले कसैलाई कारबाही गर्न सक्ने स्थिति देखिन्न । फगत गुटका सदस्यबाट गाली बेइज्जती गर्ने गराउने र आत्मतृप्तिको रसपान गर्ने ध्याउन्न मै नेताहरू उद्दत देखिन्छन् । नेकपामा सिद्धान्त प्रति प्रतिबद्ध, सचेत, अनुशासित कार्यकर्ता पनि छन् तर गुटबन्दीमा सहभागी नभएको कारण ओझेल पर्न बाध्य बनेका छन् । गुटका पक्षधर बाहेकको खासै अस्तित्व छैन नेकपामा तैपनि हिम्मत बटुलेर पार्टीको हितको निम्ति जुट्ने जमर्को गरिरहन्छन्, अनुशासित र बफादार कार्यकर्ताहरु ।
यो रोगबाट मुक्त हुनको निम्ति नेकपाका लाखौं कार्यकर्तालाई संगठनात्मक अनुशासन सम्बन्धि शिक्षा दिनु र लिनु पर्दछ ताकि उनीहरूले आफुले संगठनात्मक अनुशासनको पालना गर्नुको साथै आफ्ना नेताहरूलाई पनि अनुशासन सम्बन्धि निगरानीमा राख्न सकुन् । तर, बर्तमान अबस्थामा नेकपामा स्कुलिङको कुरा हराउँदै गइरहेको अनुभूति भइरहेको छ।लेनिननात्मक संगठनात्मक सिद्धान्तमा विश्वास राख्ने नेकपामा किन संगठनात्मक अनुशासन अस्ताउँदै छ त ? यो प्रश्न स्वयं नेकपाका नेता तथा कार्यकर्ताको मन मस्तिष्कमा उब्जनु पर्छ, सोँचिन बाध्य बन्नुपर्छ र मात्रै पार्टी स्कुलहरुमा क्लास प्रशिक्षण हो ला जसको कारण अनुशासन पालनामा सुधार आउने आशा गर्न सकिन्छ ।
सिद्धान्ततः लेनिनात्मक संगठनात्मक पद्धतिमा विस्वास राख्ने नेकपाका कार्यकर्ताहरु लेनिनले प्रतिपादन गरेको जनवादी केन्द्रीयताका निम्न कुरामा अनभिज्ञ छैनन्ः
ब्यक्ति संगठनको अधिनस्थ हुन्छ ।
– अल्पमत बहुमतको अधिनस्थ हुन्छ ।
– तल्लो कमिटी माथिल्लो कमिटीको अधिनस्थ हुन्छ ।
– पार्टीका सम्पूर्ण कमिटीहरु केन्द्रीय कमिटीको अधिनस्थ हुन्छन् ।
– केन्द्रीय समिति महाधिवेशनको अधिनस्थ हुन्छ ।
– महाधिवेशन सम्पूर्ण पार्टी सदस्यहरूको अधिनस्थ हुन्छ ।

उपरोक्त नियमहरुको उल्लङ्घन गर्नु अनुशासनको उल्लङ्घन गर्नु हो, संगठनमा अनुशासनको उल्लङ्घनले संगठनात्मक एकतामा बाधा पुर्याउँछ र संगठनको गतिशील क्षमतामा ह्रास ल्याउँछ भन्ने कुरा नेकपाका नेता कार्यकर्ताले नबुझेका पनि होइनन् तर नेकपामा अहिले माथि उल्लेखित संगठनात्मक अनुशासनका नियमहरु लागू गर्न र हुन निम्न पुँजीपति बर्गाधार, सत्ता लोलुपता, ब्यक्तिबादी चिन्तन र गुट हावी हुनुका कारणले सजिलो छैन । यस सम्बन्धमा लेनिनको यो भनाइ उल्लेख गर्नु उपयुक्त हुनेछ । लेनिन भन्नुहुन्छ “बुद्धिजीवीहरुको आम जीवन पद्धति, जीविकाको साधन, जुन धेरै कुरामा निम्न बुर्जुवा अस्तित्व (एक्लै अथवा सानासाना समूहमा काम गर्ने बानी इत्यादि) सित मिल्दोजुल्दो हुन्छ, यस बिशेषता शीत घनिष्ट रुपमा सम्बन्धित हुन्छ । यस प्रकारको जीवन पद्धतिले गर्दा अनुशासनमा बस्न बडो कठिन हुन्छ ।” यसबारे लेनिन भन्नुहुन्छ “आधुनिक पुँजीवादी समाजको बिशेश तप्काको रुपमा ब्यक्तिबाद र अनुशाशीत एवं संगठित भएर काम गर्ने असमर्थता नै बुद्धिजीवीहरुको आम र बिशिष्ट लक्षण हो ।” (एक कदम अगाडि दुई कदम पछाडि पृष्ठ ८२) । यस प्रकारको अनुशासनमा बस्न नसक्नेहरुका लागि संगठन एक दैत्यकार कारखाना जस्तो लाग्छ, अंशलाई पूर्ण र अल्पमतलाई बहुमतको अधिनमा राख्ने कुरालाई दासता जस्तो लाग्छ र केन्द्रको नेतृत्वमा श्रम बिभाजन गरिएको कुरालाई मानिसलाई कलपुर्जा बनाइएको आभाष गरिन्छ ।
यो कुरा यहाँ किन उठान गरिएको हो भने अहिले नेकपामा सर्बहारा बर्गको नेतृत्व छैन र भनौं सर्बहारा बर्गका मजदुर देखि पार्टी टाढा छ, मध्यम बर्गीय मान्छे नै यसमा हालिमुहालिमा छन । यो संगठनमा न त सर्बहारा बर्गीय चिन्तनको इमानदारीपूर्वक पालना गर्ने नेतृत्व छ, न त बैचारिक चेतले लैस कार्यकर्ता । छ त केबल शासकको जस्तो स्वभाव, मालिकको जस्तो प्रवृत्ति र ढोंगि चरित्र भएका, काम भन्दा कुरामा विस्वास गर्ने, सत्यको पक्षमा दृढता पूर्वक उभिन नसक्ने, गुटमा मात्रै विश्वास गर्ने नेतृत्व र त्यसैको गुलामी गर्ने कार्यकर्ता प्रवृत्ति । अनि यस्तो भिडले संगठनात्मक अनुशासन कहाँ मान्छ र ? अधिकांश घटनाहरुमा केन्द्रीय नेतृत्व नै अनुशासन अवहेलनाको नेतृत्व गर्छन् । कार्यकर्तामा बचेको अनुशासन पनि गुटको झुटमा संगित भर्दाभर्दै सकिने स्थिति बन्दै गइरहेको छ । नेता कार्यकर्ताको श्रम प्रति घृणा छ । सत्ताको वरिपरि बस्ने र रसास्वादन गर्ने प्रवृत्ति बढ्दै जाँदा भ्रष्टाचारको पोखरीमा डुबुल्की मार्ने प्रवृत्ति बिकास गरिँदैछ चाहे त्यही पोखरीमा डुबेको कारण सिंगो जीवन काम नलाग्ने बनोस् ।
ब्यक्तिले संगठनको गलत कुराको आलोचना गर्न पाइन्छ, संगठनका नेता कार्यकर्ताको पनि । त्यस्ता आलोचनाहरुलाई दबाउनुको साटो स्वागत गर्नुपर्छ तर संगठन भित्र अनुशासित रुपमा मात्रै । अब सोचौं त, के नेकपामा यस्तो भइरहेको छ ? अहँ छैन । जसले, जहाँ, जस्तोसुकै अबस्थामा, तल्लो वा माथिल्लो कमिटीमा, संगठन बाहिर आफ्नो तर्फबाट मनका वह जस्तै बिचार भावना पोख्दै हिंड्छन् । कम्युनिष्ट पार्टीको नियमका हिसाबले सबै पार्टी सदस्य कुनै न कुनै कमिटीमा कमिटेड हुनुपर्नेमा त्यसो पनि छैन् । एक सदस्य एक कमिटि पनि, गुटको बखान गर्नेको कमि हुने डरले एक सदस्य बहु समिति बनाएर कार्यान्वयन गरिएको छ, गुटको शरण नपर्नेहरु कमिटेड नै छैनन् । कमिटेड नभएकाहरुले स्वभवतः असम्बन्धित स्थानमा बोल्ने नै भए, यो भन्दा बढी लापरबाही त कमिटेडले नै गर्छन् अनि गलत कुराको आलोचना गर्ने लाई कमिटीको बैठकमा नबोलाएका घटना पनि बाहिर आइरहन्छन् । यस्तो अबस्थामा कसरी हुन्छ त, संगठनात्मक अनुशासनको पालना ?
जब ब्यक्तिले आफ्नो संगठनको आलोचना संगठन बाहिर गर्दछ भने त्यो आलोचना संगठनको जुझारु क्षमता घटाउने र संगठनमा गुटबन्दी गर्ने साधन बन्छ, यही भैरहेको छ नेकपामा । त्यसैले आफ्ना बिचार वा मतभेदहरु स्पष्ट रुपमा कमिटीमा राख्न पाउनु, विषयहरुमा निर्णय भन्दा पहिले व्यापक छलफल चलाउनु अपरिहार्य छ तर त्यसो भइरहेको छैन् । आफू अल्पमतमा परेपछि निर्णयलाई कार्यान्वयन गर्ने पक्षमा लाग्नुको सट्टा संगठन बाहिर आफ्नो मतभेद प्रकट गर्ने, गुटका सदस्यहरुलाई लापरवाह बोल्न लगाउने, काममा इमानदारीपूर्वक नलाग्ने कार्यहरु नेकपा नेता तथा सदस्यका आम बानीबेहोरा बन्दैछन् अनि माओत्सेतुङको संगठन सम्बन्धि नियम अनुसरण कसले गरोस्, लेनिनबादी संगठनात्मक पद्धतिमा जीवन कसले भरोस् । त्यसैले त भन्न सकिन्छः क्रमशः नेकपामा संगठनात्मक अनुशासन अस्ताउँदै छ ।
संगठनात्मक नियमको अवहेलना गर्ने सबै प्रकारका प्रवृत्तिहरुका बिरुद्ध संघर्ष गरेर नै संगठनमा अनुशासन कायम गर्नु नेकपाका सदस्यहरुको कर्तव्य हो । त्यसकारण नेकपाका सबै सदस्यहरुले आफू अनुशासनमा बस्ने र अरुलाई पनि अनुशासनमा राख्न सक्रिय भुमिका निर्वाह गर्नुपर्दछ । यसरी मात्रै पार्टी अनुशासित बन्न सक्छ । तर अहिलेको परिवेशमा नेकपामा यो लागू हुने संकेत देखिदैन । अझ स्पष्ट भन्ने हो भने दुई पार्टीको एकीकरण पछि पूर्व दुई पार्टीको ब्यबहारमा अस्तित्व, नयाँ पुराना गुट आदिका कारण जसले जे बोले वा गरेपनि कसैले कसैलाई कारबाही गर्ने वा गर्न सकिने स्थिति छैन् किनकि कारबाहीको प्रसंग उठाउने बित्तिकै आफ्नो गुट छोड्ने डर छ सबै गुटमा । घटनाक्रमबाट यो प्रतीत हुन्छ कि एउटा गुटबाट अर्को गुटमा ल्याउन जसले जे गर्न वा सहन तयार हुन्छन् चाहे सत्य वा झुट जेसुकै होस् ।
यसरी पार्टी भित्र खुला र जनवादी छलफल गरि तथ्यद्वारा सत्यको अन्वेषण गर्ने बिधिको अबलम्बन नहुँदा सम्म नेकपामा संगठनात्मक अनुशासन अस्ताइरहने कुरा उक्त पार्टीका सामुहिक मूल्यमान्यता, विश्वास, सोंच र कार्यशैली हेर्दा प्रष्ट देखिन्छ । कार्यकर्ताले गलत प्रवृत्तिलाई प्रोत्साहन गर्ने र नेतृत्व गलत प्रवृत्ति संरक्षणमा लागुन्जेल अनुशासित पार्टीको कल्पना गर्न सकिन्न, अझ लेनिननात्मक संगठनात्मक पद्धतिको जुझारु र मिलिटेन्ट पार्टीको कुरा त कल्पना बाहिर नै । कार्यकर्ताको बैचारिक चेत नफुल्ने बेला सम्म र नेतृत्वमा बर्गीय इमान्दारीता नदेखिउन्जेलसम्म नेकपामा संगठनात्मक अनुशासन अस्ताइरहने कुरालाई कसैले छेक्न सक्दैन । उनीहरूले भन्दै आएको “प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु अहिलको नेकपाको ऐतिहासिक कार्यभार हो” भन्ने कुरा त नेकपामा अस्ताउँदै गएको संगठनात्मक अनुशासनका कारण र त्यो अनुशासनहीनताले उब्जाएको गलत प्रवृत्तिका कारण पुरा गर्न नेकपा सक्षम हुने छाँटकाँट देखिन्न, कागजमा लेखेर कार्यकर्ता र जनतामा भ्रम छर्नेसम्म हुनसक्छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  ७ : २० बजे