काठमाडौं ।
समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर नयाँ पार्टी बनेको छ । दुई पार्टीका नेताहरुबीच बुधबार भएको करिब ६ घण्टा लामो वार्ता र रस्साकस्सीबची नयाँ पार्टीको घोषणा भएको हो । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी मिलेर बनेको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ ।
दुई दलबीच एकता समानताका आधारमा हुने उल्लेख छ । सहमति अनुसार नयाँ पार्टीको झण्डा समाजवादी पार्टीले नै प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगकबीचमा तारा कायम गर्ने सहमति भएको छ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता कायम गरिएको छ । एकताको सहमतिपछि सार्वजनिक पत्रमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । उनीहरुले नयाँ पार्टी परम्परागत राजनीतिक शक्तिको विकल्पका रुपमा स्थापित हुने दाबी पनि गरेका छन् । सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेशका कारण आफ्ना पार्टीबाट नेताहरु बाहिरिने जोखिम बढेपछि दुई दल रातारात मिलेका हुन् ।
पार्टी छाड्नेलाई ४० प्रतिशत पुग्न नदिइ रोक्ने रणनीति अनुसार दुई दलबीच भएको एकता वार्ताले पूर्णता पाएको हो । पार्टी एकता घोषणापूर्व राजपाका तर्फबाट ४ अध्यक्ष महन्थ, राजेन्द्र, महेन्द्र र शरदसिंह भण्डारी तथा समाजवादी पार्टीकोतर्फबाट उपेन्द्र, डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ वार्तामा सहभागी भएका थिए ।
प्रतिक्रिया