९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लकडाउनको एक महिनाः कपिलवस्तुका सर्वसाधारणद्धारा पूर्ण पालना, दक्षिणी भेगमा केही समस्या



मायादेवी अनलाइन, चारनम्बर ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको विहिबार एक महिना पुरा हुँदै छ ।

गत चैत्र ११ गतेबाट सुरु भएको लक डाउनका कारण प्रदेश ५ का सबै जिल्लाहरु सुनसान छन् । अत्यावश्यक सेवा बाहेकका कुनै पनि उद्योग धन्दा र कलकारखाना खुलेका छैनन् भने अत्यावश्यक सवारी बाहेकका साना ठुला सवारी चलेका छैनन् ।

लकडाउनको असर कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर परेको छ । लक डाउनका कारण बुद्धले २९ बर्ष विताएको तिलौराकोटमा पनि प्रभाव परेको छ भने दक्षिण एसियाको सबैभनदा ठूलो मानव निर्मित जगदिशपुर तालमा पनि कुनै गतिविध हुन सकेका छैनन् ।

यस्तै यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु पूर्णरुपमा बन्द हुँदा जिल्लाको अर्थतन्त्रमा पनि ठुलो असर परेको होटल ब्यवसायी संघका अध्यक्ष गोपाल खत्रीले बताउनु भयो ।

लक डाउनको यो एक महिने अवधिमा कपिलवस्तुमा धेरै सर्वसाधारणले लक डाउनको पूर्ण पालना गरेका छन् भने दक्षिणतिरका भेगमा लक डाउन उल्लङ्घन गर्नेको संख्या धेरै देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कपिलवस्तुका उत्तरी क्षेत्रमा लक डाउन उलङ्घनका घटना कमि भए पनि सिमासंग जोडिएका कृष्णनगर, तौलिहवा, बहादुरगंज लगायतका क्षेत्रमा लक डाउन उल्लङ्घनका घटना बढी हुने गरेको डिएसपी सुनिल मल्लले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

लक डाउनको अवस्थाको जिल्लाभर अवलोकन गर्ने क्रममा पूर्वपश्चिम राजमार्गसंग जोडिएका क्षेत्रहरु लगभग सर्वसाधारणको आवागमन ठप्प जस्तै भए पनि राजमार्गसंग नजोडिएका क्षेत्रहरुमा भने लक डाउनको पूर्ण पालना नभएको मल्लले बताउनु भयो ।

लक डाउन उल्लङ्घन हुनुमा सर्वसाधारणमा चेतनाको कमी भएको डिएसपी मल्लको ठम्याई छ । ‘लक डाउन सर्वसाधारणको लागि भए पनि केही मानिसमा अझै पनि जनचेतना कमि भएको पायौँ मल्लले भन्नुभयो’,–“केही मानिसहरु अटेरी गरेर पनि घर बाहिर निस्कने गरेका छन् ।”

कोरोनाबाट बच्ने एक मात्र उपाय सामाजिक दुरी कायम गर्नु रहेकाले लक डाउनको पूर्ण पालना गर्न जिल्लाबासीलाई अनुरोध गर्नुभयो । कोरोना संक्रमणको दर नेपालमा दिनप्रतिदिन बढिरहेकाले बाँकी दिनमा लक डाउन झन् कडा हुने उहाँको भनाई छ । लक डाउन उलङ्घनगर्नेलाई सुरक्षाकर्मीहरुले सडकमै कोरोना कक्षा दिने काम पनि गरेका मल्लले बताउनु भयो ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ७ : २८ बजे