९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बर्दियासंग मुख्यमन्त्री पोख्रेलको आठौँ भिडिओ संवाद, स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनू



मायादेवी अनलाइन, बुटवल ।
प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बुधबार बर्दियाका सरोकारवालासंग एकिकृत भिडिओ संवाद गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारेमा बिभिन्न जिल्लाका सरोकारवालासंग नियमित भिडिओ संवाद गर्दै आउनु भएका मुख्यमन्त्री पोख्रेलले बर्दियाका राजनैतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमुखसंग भिडियो संवाद गर्नुभएको हो ।

मुख्यमन्त्री पोख्रेलको यो आठौँ भिडियो संवाद हो । संवादमा बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेम खनाल, बर्दिया जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु, नेकपा बर्दिया इञ्चार्ज लक्ष्मण ज्ञवाली, कांग्रेस जिल्ला सभापति सञ्जय गौतम र नेकपा बर्दियाका अध्यक्ष भुवन थारु सहभागी हुनुभएको थियो ।

भिडियो संवादमा सहभागीहरुले भनेका कुरा ध्यान दिएर सुन्नुभएका मुख्य मन्त्री पोख्रेलले कोरोना नियन्त्रणमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सबै जना मिलेर मात्रै कोरोनालाई पराजित गर्न सकिने भएकाले सोही अनुसार गर्न गराउन निर्देशन दिनुभएको प्रेस सल्लहाकार शेर बहादुर केसीले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेर कडाई गरिएको बताउनु भयो । बर्दियामा स्वास्थ्य सामग्री अभाव हुन नदिने बचन लिनुभएका पोख्रेलले भन्नुभयो, “कोरोनाको लडाईमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउनू । कुनै कुराको अभाव हुन नदिनू ।”

उहाँले स्थानीय तहलाई कोरोना विरुद्धको काम अघि बढाउन रकम पठाएको र जिल्ला विपद व्यवस्थापन समितिलाई रकम पठाउने निर्णय गरेको पनि जानकारी दिनुभयो । संवादमा मुख्यमन्त्री पोख्रेलले राहत संकलन र प्रदान एकद्धार प्रणालीबाट अघि बढाउन पुनः आग्रह गर्नुभयो । सामाजिक दुरी कायम गरी स्थानीय श्रमलाई प्रयोग गर्न सकिने बताउँदै विकास निर्माणका काम अघि बढाउन पोख्रेलले निर्देशन दिनुभयो ।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहा आइसियु सहितको उपचारको व्यवस्था रहेकोले कोरोनाको उपचारको आवश्यक प्रवन्ध भएको उहाँको भनाई छ । भिडियो संवादमा सहभागीहरुले ¥यापिड टेस्टको संख्या बढाउन, स्वास्थ्य सामग्रीको आपूर्ति बढाउन, स्वास्थ्य संस्थाहरुलाई सबल र सक्षम बनाउन आग्रह गर्नुभएको केसीले बताउनु भयो ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ७ : ०७ बजे