मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले किसानले लगाएको तरकारी विक्रीको सहज वातावरण मिलाउन पहल गर्नुभएको छ । नगरको वडा नं. १० धनकौलीका किसानले लगाएको सयौं विगाहको तरकारी विक्री नभएको गुनासो बढेपछि नगर प्रमुख श्रेष्ठ बुधबार किसानको खेतमै गएर विक्रीको लागि पहल गर्नुभएको हो ।
छिमेकी स्थानीय तहले भारतबाट तरकारी आयात भएको र त्यसले कोरोना संक्रमणको जोखिम हुने भन्दै तरकारी विक्री वितरणमा रोक लगाइ रहेका छन् । त्यसले बुद्धभूमि नगरपालिकाका किसानले लगाएको तरकारी विक्रीमा असर पुगेको भन्दै नगर प्रमुख श्रेष्ठले विक्री वितरणको सहज वातावरण मिलाउन आग्रह गर्नुभएको हो ।
नगर प्रमुख श्रेष्ठले छिमेकी जिल्ला अर्घाखाँचीका स्थानीय तहका प्रमुखसंग यस विषयमा कुरा राख्नुभएको छ । अर्घाखाँचीमा तराईबाट आयात हुने तरकारी, फलफूल र माछामासुलाई प्रतिवन्ध लगाइएको छ । यसले कपिलवस्तुका किसानले उत्पादन गरेका तरकारीजन्य वस्तुहरु बेचविखनमा समस्या परेको छ ।
कपिलवस्तुमा कोरोनाको संक्रमण नदेखिएकाले यहाँ उत्पादन भएका तरकारी अर्घाखाँचीमा बेचविखन गर्दा कुनै समस्या नहुने भन्दै यसको सहज वातावरण मिलाउन स्थानीय तहसंग आग्रह गर्नुभएको हो ।
शीतगंगा नगरपालिकाका नगर प्रमुख सूर्य प्रसाद अधिकारी र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालसंग उहाँले टेलिफोन मार्फत नगरभित्र उत्पादन भएको तरकारी बेचविखन गर्न सहज वातावरण मिलाउन आग्रह गर्नुभएको थियो ।
दुवै नगरका नगर प्रमुखले यस विषयमा थप छलफल गरेर भन्ने बताएको उहाँले मायादेवीलाई बताउनुभयो ।
साथै नगर प्रमुख श्रेष्ठले प्रदेश सांसद विष्णु पन्थीलाई पनि किसानले उत्पादन गरेको तरकारी विक्रीका लागि सहजिकरण गरिदिन आग्रह गर्नुभएको छ । तरकारी खेतबाटै टेलिफोन संवाद गरी उहाँले सांसद पन्थीसंग उक्त पहल गर्नुभएको हो । संवादमा सांसद पन्थीले विहीबार (भोलि) केही तरकारी आफुले वुटवल निर्यात गर्नका लागि पहल गर्ने आश्वासन दिएको उहाँले बताउनुभयो ।
धनकौली तरकारीको पकेट क्षेत्र हो । यहाँको प्रमुख बजार अर्घाखाँची हुँदै आएपनि कोरोना संक्रमणको भयले आयात रोकिए पछि किसान चरम मर्कामा परेका छन् ।
अहिले धनकौलीका टमाटर, करेला, लौका, भेण्डी, बोडी लगायतका तरकारी उत्पादन भएका छन् । तर, विक्री नहुने बोटमै कुहिएका छन् । लकडाउनको कारण सवारी साधन ठप्प हुँदा लाखौं मूल्यको तरकारी खेर जाने भएपछि आफु चिन्तामा परेको अगुवा किसान बहराइच केवटले बताउनुभयो । नगर प्रमुख श्रेष्ठ खेतमै आएर विक्रीको लागि पहिल गरेपछि आफुहरुलाई सान्त्वना मिलेको केवटले बताउनुभयो ।
प्रतिक्रिया