९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एकता प्रक्रियालाई पूर्णता दिनुपर्नेमा ओलीको जोड



काठमाडौँ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाएर एकता प्रक्रियालाई पूर्णता दिनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७१ औँ स्थापना दिवसको अवसरमा मंगलबार उनले दिएको शुभकामना सन्देशमा आन्तरिक एकतालाई थप सुदृढ तुल्याउनु र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा लैजानु अहिलेको प्रमुख आवश्यकता रहेको र त्यसका लागि लेनिन जयन्ती तथा नेकपा स्थापना दिवसले थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

जनताबाट दुई तिहाई भन्दा बढी मत पाएर शासन सत्ता सञ्चालनको अवस्थामा पुग्नु नेपाल कम्युनिष्ट पार्टीका लागि असाधारण उपलब्धि रहेको उनले उल्लेख गरेका छन् ।

उनले सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले अहिलेको उचाइ हाँसिल गरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ८ : ४२ बजे