९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा स्थापना दिवसः ‘नेकपा फुटाउन देशी–विदेशी शक्ति सक्रिय’



काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल र बहसबाटै पार्टी एकतालाई थप सृदृढ बनाउन सकिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७१औं वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै दाहालले यस्तो बताएका हुन् ।

‘पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत् पार्टी एकतालाई थप सुदृढ बनाउन सकिन्छ’, दाहालले विज्ञप्तिमा भनेका छन् ।

उनले पार्टी एकताको महत्त्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।

‘परन्तु, ऐतिहासिक पार्टी एकतापछि देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् ।

प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो’, विज्ञप्तिमा उल्लेख छ ।

७१ वर्ष लामो राजनीतिक संघर्षकै बलमा संघीय गणतन्त्रात्मक शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादउन्मूख संविधान, सामाजिक न्यायलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएका दाहालको भनाइ छ । ‘प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी क्रान्तिको तयारीका लागि गरिएको ऐतिहासिक पार्टी एकताले हामीलाई लक्ष्यप्रति समर्पित हुन थप प्रेरणा र ऊर्जा दिएको छ’, उनले भनेका छन् ।

साथै विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका नेता–कार्यकर्तालाई उनले आह्वान पनि गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७ बुधबार ००:००  ८ : ३३ बजे