काठमाडौं ।
मंगलबार एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। जसमा ५ जना निको भएर घर फर्किएका छन्।
उदयपुरमा देखिएका ११ संक्रमितमध्ये ८ जनालाई आजै विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ।
सुरुमा उनीहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको थियो । पछि अस्पतालमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि विराटनगर पठाइएको हो ।
गत शुक्रबाट जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । आज तीनै संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
एकैदिन ११ जनामा संक्रमण देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ। जिल्लामा आवतजावत रोक्ने हिसाबले सिल गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।
उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २४ पुगेको छ । जसमा आज देखिएका ११ जना संक्रमित नै जिल्लाका स्थानीय हुन्। उनीहरू पनि मुस्लिम समुदायकै छन् ।
यसअघि देखिएका १३ संक्रमितमध्ये धेरै भारतीय छन् । उनीहरू एक महिना अघि भारतबाट मोरङ, सुनसरी, सप्तरी हुँदै चैतको पहिलो साता उदयपुर आइपुगेका थिए ।
प्रतिक्रिया