९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

उदयपुरमा १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या पुग्यो ४१



काठमाडौं ।

मंगलबार एकैदिन उदयपुरमा १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सेतोपाटीलाई जानकारी दिए ।

योसँगै कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । जसमा ५ जना निको भएर घर फर्किएका छन् ।

उदयपुरमा देखिएका १० संक्रमितमध्ये ८ जनालाई आजै विराटनगरको कोरोना विशेष अस्पताल पठाइएको छ । सुरुमा उनीहरूलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको थियो । पछि अस्पतालमा गरिएको पुनः परीक्षणमा पोजेटिभ देखिएपछि विराटनगर पठाइएको हो ।

गत शुक्रबाट जिल्लाको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो । आज तीनै संक्रमितसँग सम्पर्कमा आएका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

एकैदिन १० जनामा संक्रमण देखिएपछि प्रदेश-१ सरकारले जिल्लालाई नै सिल गर्ने निर्णय गरेको छ। जिल्लामा आवतजावत रोक्ने हिसाबले सिल गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले सेतोपाटीलाई जानकारी दिए ।

उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २३ पुगेको छ। जसमा आज देखिएका १० जना संक्रमित नै जिल्लाका स्थानीय हुन् । उनीहरू पनि मुस्लिम समुदायकै छन् । यसअघि देखिएका १३ संक्रमितमध्ये धेरै भारतीय छन् । उनीहरू एक महिना अघि भारतबाट मोरङ, सुनसरी, सप्तरी हुँदै चैतको पहिलो साता उदयपुर आइपुगेका थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  ७ : १९ बजे