मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुका दुई सामुदायिक वनले विपन्न परिवारलाई राहत वितरण गरेका छन् । बुद्धभूमि नगरपालिका वडा नम्बर ५ का गौतमबुद्ध सामुदायिक वन र वनदेवी सामुदायिक वन उपभोक्ता समूहले विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । लामो समयको लकडाउनका कारण मर्कामा परेका वडाभित्रका २ सय २९ विपन्न मजदुर घरपरिवारलाई वडाको समन्वयमा राहत वितरण गरिएको हो ।
राहत वितरण गर्दा कतिपय विपन्न परिवार छुटेकाले उनीहरुलाई वडासंग सहकार्य गरी राहत वितरण गरिएको वनदेबी सामुदायिक वनका अध्यक्ष मोतीलाल यादवले जानकारी दिनुभयो । उहाँले वडाका १ सय २६ परिवारलाई राहत वितरण गरेको जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणको लागि सरकारले मुलुककलाई लक डाउन गरेको र यस्तो अवस्थामा विपन्न तथा मजदुर परिवारको रोजीरोटीनै गुमेकाले त्यस्तो परिवारलाई राहत वितरण गरिएको गौतमबुद्ध सामुदायिक वनका अध्यक्ष सूर्य मल्लले जानकारी दिनुभएको छ ।
वडाले तथ्याङ्क संकलन गर्दा धेरै विपन्न परिवार छुटेका थिए । पछि वडा अध्यक्ष, सरोकारवाला, बुद्धिजिवी तथा राजनैतिक दलका प्रतिनिधीको बैठकपछि वडाका दुई सामुदायिक वनले छुटेका परिवारलाई वडाकै सहकार्यमा राहत उपलब्ध गराउने छलफल भएको थियो । सोही अनुरुप आफ्ना उपभोक्तालाई राहत वितरण गरिएको हो ।
राहत पाएपछि वडाका विपन्न तथा मजदुर परिवार खुसी भएका थिए । सम्पूर्णलाई परिवार संख्याको आधारमा राहत वितरण गरिएको हो । विपदको समयमा वनले गरेको काम सरहानीय रहेको स्थानीय कृष्ण मल्लले बताउनुभएको छ ।
वडाध्यक्ष बेचनप्रसाद यादवले सामुदायिक बनले दिएको राहत वडाको समन्वयमा बाडिएको बताउनुभयो । नगरले एकद्धार प्रणालीबाट राहत बाँड्न भने बमोजिम आफुहरुले राहत बाँडेको वडाध्यक्ष यादवले बताउनुभयो । वडाबाट दिएको राहतमा छुटेकालाई यो पाली राहत दिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया