९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इजरायलमा नेतान्याहु र गान्जबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति



एजेन्सी ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका राजनीतिक प्रतिद्वन्द्धी बेन्नी गान्जले आपतकालीन एकताको सरकार गठन गर्ने सम्झौतामा सोमबार हस्ताक्षर गरेका छन् ।

उनीहरूले पालैपालो सरकारका नेतृत्व गर्ने सम्झौता गरेका छन् । सम्झौता अनुसार पहिलो १८ महिना नेतान्याहू प्रधानमन्त्री बन्नेछन् ।

त्यसपछि उनले गान्जलाई सो पद हस्तान्तरण गर्नेछन् ।

यो सम्झाताले देशमा एक वर्षदेखि जारी राजनीतिक संकटको अन्त्य गर्ने ठानिएको छ । पटक-पटक गरी तीन पटक हुँदा पनि कुनै पनि दलले सरकार बनाउन आवश्यक बहुमत पुर्याउन नसकेपछि त्यहाँ नयाँ सरकार गठन हुन सकेको थिएन ।

जारी कोरोना महामारीले नेतान्याहू र गान्जलाई सहमतिमा ल्याउन भूमिका खेलको बताइन्छ ।

दुबै नेतालाई चौथो निर्वाचन नगई संयूक्त सरकार बनाएर कोरोना विरुद्धको लडाईंमा ध्यान दिनुपर्ने दबाब पर्दै आएको थियो ।

इजरायली स्वास्थ्य मन्त्रालय अनुसार इजरायलमा १३ हजार ७ जना संक्रमित भेटिएका छन् भने १ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

‘म प्रतिज्ञा गर्नेछु कि यस आपतकालीन समयमा गठित सरकारले इजरायली नागरिकहरूको जीवन बचाउने कार्य गर्नेछु,’ प्रधानमन्त्री नेतान्याहूले सरकार गठनपछि ट्वीट गरेका छन् ।

‘हामीले चौथो चुनाव रोकेका छौ । हामी प्रजातन्त्रको रक्षा गर्नेछौ । हामी कोरोना भाइरससँग लड्नेछौ र सबै इजरायलका नागरिकहरूको स्वास्थ ख्याल गर्नेछौ ‘ , गान्ताजले पनि लेखेका छन्।

सम्झौतामा नेतान्याहूको दक्षिणपन्थी लिकुड पार्टी र गान्ताजको ब्लू र व्हाइट गठबन्धनबीचको सरकारमा रहेको स्थिति देख्न सकिन्छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  ३ : ४० बजे