९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रपति ट्रमद्वारा आप्रवासन भिसा स्थगन गर्ने घोषणा



एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेका लागि दिँइदै आएको ‘आप्रवासन भिसा’अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताएका छन् ।

‘अदृश्य दुश्मनबाट आक्रमणका साथै हाम्रा महान अमेरिकी नागरिकहरूको रोजगारी जोगाउनु पर्ने परिस्थिति उत्पन्न भएका कारण संयुक्तराज्य अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा म हस्ताक्षर गर्दैछु’ ट्रम्पले ट्वीट गरेका छन् ।

उनले कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्ने बारेमा कुनै विवरण प्रस्तुत गर्नु भएको छैन । ह्वाइट हाउसले पनि राष्ट्रपतिको ट्वीटमा गरिएको घोषणाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

ट्रम्पले कोरोनाबाट सर्वाधिक प्रभाव परेका चीन र युरोपेली मुलुकहरुबाट अमेरिकातर्फ हुने यात्रालाई प्रतिबन्ध लगाइएको बारेमा श्रेय लिएका छन् । उनले यी प्रतिबन्धहरुले अमेरिकामा कोरोनाभाइरसको फैलावटमा सुस्तता आएको दाबी गरेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले महामारीका कारण आप्रवासी भिसा लगायत प्रायः सबै भिसा प्रक्रिया हप्तौँदेखि स्थगित गरेको छ ।

अमेरिकामा हालसम्म ७ लाख ५० हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । रासस

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  २ : ४३ बजे