९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘पैदलयात्रुका भोकका भित्ता र खुल्किएका पैतालाको आँसु नलागोस् सरकार !’



चन्द्रकान्त न्यौपाने ।
मैले प्रकाण्ड विद्वान् तथा निबन्धकार डाक्टर डीपी भण्डारीका केही निबन्ध संग्रहरु पढेको छु । त्यसमध्ये देश काल र परिस्थितिले उहाँको विख्यात निबन्ध संग्रह ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ’लाई मेरो स्मृति पटलमा ठिङ्ग उभ्याइदिएको छ । विश्वभर कोभिड–१९ को महामारी रहेका बेला यस निबन्ध संग्रहको सम्झना गर्नुमा र यसलाई नेपालसंग जोड्नुमा मेरा खास कारण छन् । मुलुक अधोगतितिर गइरहेको स्थितिप्रति कुनै चासो नदिइकन आफ्नै रसरंगमा रमाइरहने शासकप्रतिको व्यंग्यको रुपमा पनि यस लेखलाई मैले लिएको छ । रोम राज्य र निरोको सोदाहरणको प्रस्तुति विना मैले मेरो यो लेख पूर्ण नहुने ठानेर निरोको शाषनकालका बिभिन्न घटनामध्ये एउटा बहुचर्चित प्रसंग कोट्याउन खोजेँ ।

इ.सं. १३ अक्टोबर ५४ मा क्लाउदिअस सिजर अगस्तसको नामबाट निरो रोमका सम्राट् बनेका थिए । त्यतिखेर उनको उमेर केवल १७ वर्षको थियो । उनी अत्यन्तै बुद्धिमान, प्रतिभाशाली, साहसिक र विलक्षणताले सम्पन्न थिए भने उनी त्यो भन्दा बढी क्रुर र तानाशाह थिए ।

रोमको इतिहासमा उल्लेख भएअनुसार निरोले राज्य चलाएको एक दशक पश्चात् इ.सं. ६४ मा रोम सहरको दक्षिणपूर्वी भागमा आगो लागेको थियो । आजभन्दा दुई हजार वर्ष पहिलेका यी राजा निरोलाई त्यति नै बेला शक्तिको उन्माद र काउकुती लाग्यो । निरोलाई एक बिहान सनक चढ्यो । यसै सन्दर्भमा सम्राट निरोले भनेका थिए कि यस्तो सम्पन्न र सांस्कृतिक रूपले अति समृद्ध राज्य कसरी जल्यो ? म आज उत्तेजित छु, यो जलनको झलकको अनुकृति हेर्न । म महामन्त्री, मन्त्री, भारदार र सेनालाई रोम नगर जलाउन आदेश दिन्छु ।’

शक्तिशाली सम्राट्को आदेश अक्षरशः पालन गरियो । ऐश्वर्यशाली रोम जल्न थाल्यो, प्रचण्ड रूपले ।… ‘सम्राट् निरोले आफ्नो सबैभन्दा मनपर्ने बाँसुरी निकाले र बाँसुरी बजाउँदै नाच्न थाले आगोको वरिपरि …’। त्यति नै खेर आगोले सल्किँदै गएर अन्ततः रोमको १३ भागमध्ये सात भागमा ठुलो क्षति पुर्याएको थियो । तीन भाग पूर्ण रूपले ध्वस्त भएको थियो । यो आगो निरन्तर कैयौं दिनसम्म बलेको थियो भन्ने इतिहासकारहरूले लेखेका छन् ।

पछिल्लो चरणमा, यसरी बाँसुरी बजाउँदै रोम जलेको हेर्ने निरोको यो कथा केवल कथामा मात्रै सीमित रहेन । नेपालको ताजा वस्तुस्थितिसंग ठ्याक्कै मेल खान पुगेको छ ।

आज विश्वका २ सय १० बढी देशहरु कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमणका कारण अस्तव्यस्त बन्न पुगेका छन् । त्यो अस्तव्यस्त हुने देशमा नेपाल पनि पुगेको छ । नेपालमा मृत्यु केस त छैन तर लकडाउनले गर्दा देश थिलाथिलो भएको छ ।

युरोप र अमेरिकामा त यो भाइरस २१ औँ शताब्दीकै सबैभन्दा खतरनाक शत्रुको रुपमा सलबलियो भने एसिया र दक्षिण एसियाली मुलुकमा पनि यसको फैलावट तीव्र गतिमा छ । अहिलेसम्मको परिस्थितिलाई हेर्दा अन्य देशहरु भन्दा नेपाल सुरक्षितजस्तो देखिएको छ । कोरोना भाइरसको मृत्युको आँकडालाई हेर्ने हो भने नेपाल पुर्ण सुरक्षित नै देखिएको छ । अर्थात् यस भाइरसको संक्रमणबाट कसैले पनि अकालमा मृत्युवरण गर्नु परेको छ्रैन ।

कोरोना भाइरसका कारण विश्वभर मानिसहरु मरेका दृश्यहरु जति कारुणिक बनेर आइरहेका छन्, नेपालमा त्यो भन्दा बढी कारुणिक बनेर आएका छन् लावालस्कर भएर लामो दुरी छिचोल्दै हराएको खुसी फिर्ता माग्न घरघरसम्म मार्चपासमा हिँडेका पैदल यात्रुका दृश्यहरु । आज यी पैदलयात्रीका दृशयहरु रमिते बनेर टुलु हेर्नेको ताँती सिंहदरबारदेखि गाउँगाउँसम्म छ । ती दर्दहरुको सादा दृश्यमा रंग भर्नेहरु कोही पनि छैनन् नेपालमा । रोम जलेर खरानी भइरहँदा त्यही आगोको ज्वाला तापी आफै बाँसुरी बजाउँदै नाचगान गर्ने निरोजस्तै हाम्रो देशको सरकार पनि ती खुल्किएका पाइतलाका दृशयहरु टुलु हेरेर बसिरहेको छ । हो यिनै दृश्यहरुको संवेदनशिलता बुझ्न नसकेको ओली सरकारलाई निरोको तुलोमा तौलिन बाध्य हुनुपरेको छ ।

चैत्र ११ गतेदेखि भएको लकडाउन तत्काल खुल्ने आशा नदेखेपछि अहिले पूर्वपश्चिम राजमार्गभरी घर फर्कनेहरुको लाम छ । लक डाउनको करिब एक महिने यो अवधिमा सरकार समयमै ‘लक डाउन’ गर्नुलाई सफलता ठानेर आफ्नै भजन गाउनमै ब्यस्त देखिन्छ । तर ती मजदुर र ज्यामीहरुको ब्यवस्थापन र घर फिर्ती सम्बन्धि ठोस ढंकले काम गर्न चुक्यो ।

युरोप र अमेरिकाका चिहानघाट भन्दा नेपालका राजमार्गहरु हिजो आज गरिबहरुको दर्द र चित्कार देख्न नसकी डाँको छोडी रोइरहेकाछन् । त्यो निर्जिव राजमार्ग विचरा के गरोस् ती काखे बालबालिकाका आमाबुबा बोकेर हिँड्नुबाहेक । यो देखिसकेपछि देशको सजिब भन्ने सरकराले त्यहाँबाट उनीहरुलाई जुरुक्क उठाएर हिँडाउनु पर्ने हो तर विचरा मेरो देशको सरकारसंग उनीहरुलाई बोक्ने तागत कहाँबाट जम्मा हुन सक्छ र ?

नेपाल बाहेकका अन्य देश जहाँ कोरोना फैलिएको छ, त्यहाँ मानिस मरेका भए पनि यहाँ जस्तो श्रमिक, मजदुर र दुखीहरुको पीडा देख्न भने कहिँ कतै पाइदैन । त्यहाँका सरकराले पनि लक डाउन गरेकै छन् तर पनि यहाँको जस्तो विचल्ली छैन । टाढा नजाऔँ १ अरब ४० करोड जनसंख्या भएको भारतले पनि आफ्ना श्रमिक मजदुर र विचल्लीमा परेकाहरुलाई ब्यवस्थापन गरेको देखिन्छ ।

करौडौँको संख्यामा दैनिक मजदुरी गरी खाने विपन्नहरु भएको भारतको उत्तर प्रदेश सरकारले पनि तिनीहरुको ब्यवस्थापन सही तरिकाले गरेको छ । उनीहरुलाई ढुक्कसंग जहाँ छन् त्यहाँ बाँच्ने अवस्था बनाइदियो । रेलमा भएकालाई रेलमै, सडकमा भएकालाई सडकमै, जहाँजहाँ छन् त्यहाँत्यहीँ संरक्षण गर्ने जिम्मा नरेन्द्र मोदी सरकारले लिएपछि पछिल्लो समय भारतमा गरिबहरुका कारुणिक दृश्य देखिन छोडेका छन् ।

नेपालभन्दा गरिब अन्य मुलुकमा पनि पैदलयात्रुको यस्तो खाले विचल्ली देखिन्न । तर नेपालमा भने लक डाउन भएको पहिलो साताबाट सडकमा सुरु भएको गरिब र मजदुरुको मार्चपास चौथो हप्तासम्म आइपुग्दासम्म पनि घट्नुको सट्टा बढेको बढ्यै छ । नयाँ पत्रिकाका प्रधानसम्पादक प्रकाश ज्वालाले लेख्नुभएको ‘माफ गर्नुस् पैदलयात्रु’ शीर्षकले नेपालको अहिलेको वास्तविकताको दुरुह चित्रण गरेको छ । काठमाण्डौँबाट पूर्वको भोजपुर, झापा, काठमाण्डौँ र रसुवाबाट रुकुम, सल्यान, प्युठान आदिको यात्रा तय गरी विस्कुट र चाउचाउको भरमा २० औँ, २५ औँ दिनको यात्रा तय गर्नु कमविडम्बनापूर्ण स्थिथि होइन, राज्यको लागि ।

एक ढिको नुन र एक गाँस जुटाउन घर छोडी देशका बिभिन्न कुनाकाप्चामा हात र नंग्रा खियाउन पुगेका नागरिकहरु लामो लक डाउनले विचल्लीमा पर्छन् भन्ने कुराको हेक्का पनि नभएको होइन सरकारलाई । तर सरकार दुखी जनताका यस्ता संवेदनशिलताका हर परीक्षामा जहिले पनि अनुत्तिर्ण हुदै आएको घटनाक्रमले बताउँछ । यसैको एक ज्वलन्त उदाहरण हो २०७२ सालमा आएको भुकम्प र यसका पीडितहरु अहिले पनि पीडामै डामिनू ।

केन्द्र सरकारले त गरेन गरेन । ती विपद्मा परेका पैदलयात्रुको व्यवस्थापन केन्द्र र स्थानीय सरकारले गरेर पुण्य कमाउने ठुलो अवसर थियो तर तिनीहरु पनि यस कार्यमा नराम्ररी चुके । अलपत्र परेका नागरिकको ब्यवस्थापनको लागि गरेको छलफलमा तगारो बनेका प्रदेश सरकारका मन्त्रीको काम देख्दा लाजको मर्नु हुन्छ । विचल्लीमा परेर लखतरान भएर हिँडिरहेका कारुणिक दृश्यहरु देखिकन पनि मन्त्री र सांसदहरु उनीहरुलाई एकैचोटी गन्तव्यसम्म पुर्याउन सकिरहेको देखिँदैन । थोकेका पैदल यात्रुलाई एक जिल्लाबाट अर्को जिल्लासम्म पुयाइदिने र अर्को जिल्लाले बल्लबल्ल उठाएर फेरि अर्को जिल्लामा । अर्कोले अर्को । अर्कोले अर्को ? यो कस्तो खालको ब्यवस्थापन हो ?

के पैदलयात्रीहरु फुटवल हुन् ? एक खेलाडीले एक किक हानेको छ । अर्को स्थानमा पुग्यो । अर्को खेलाडीले अर्को र अर्को खेलाडीले स्थानमा पुर्याउने । तै पनि गोल हुने हो कि होइन ? थिल्थिलिएका यी पैदलयात्रुहरु डेभिड वेकहमको जस्तो फ्रि किक बन्न सक्दैनन् । एक पटक प्रहार गरेपछि सिधै गोल हुने ।
कतिपटक बस र ट्रकमा उक्लने र ओर्लने गर्ने पैदलयात्रामा धाँजा फाटेका पैतलाले । बाँच्न पाइन्छ कि पाइन्न ? आफ्नो आमाबुबा, श्रीमती, छोराछोरी भेट्न पाइन्छ, पाइन्न भन्ने दोषाँधमा हिँडेकाहरुलाई एकै पटकमा गन्तव्यमा पुर्याउन कल्ले रोक्यो सरकारलाई ? के सरकारले पैदलयात्रुलाई ओसार्न सवारी पास दिनै मिल्दैन ? ती विचराको हकमा सरकाले जतिपनि गाडी चलाएर उनीहरुलाई दुख नदिइकन गन्तव्यमा पुर्याउन सक्नु पर्दछ । अन्यथा त्यो निमुखाहरुमाथि वर्वरता हुन्छ । सरकारले नै मानवताको धज्जी उडाएको हुन्छ ।

तिनै गरिब मजदुरको टाउकोमा टेकेर चुनाव जितेका मन्त्री र जनप्रतिनिधिको काम यस्तो खालको काँचो हुन्छ ? सरकारले यो अवस्था आउँछ भन्ने थाहा भएपछि लक डाउन गर्दा पनि अलिकति दुर्दर्शिता अपनाउन सक्थ्यो । लक डाउन गरेर राम्रो गरे पनि सरकार मजदुरको समस्या समाधानमा चुकेकै हो ।

सरकारले यी नागरिकमाथि गरेको ब्यवहार हेर्दा लाग्छ कि, यी यो देशका नागरिक होइनन् । अहिलेका राष्ट्रपति, प्रधानमन्त्री, नेता, मन्त्री, सांसद, मेयर उपमेयर को हुन् ? सत्ताको त्यो सिंहासनमा कसले पुर्यायो ? उनीहरुको आलिसान महल, महंगा गाडी, चौरासी ब्यंजन अनि त्यो महंगो जीवनशैली कसले दिएको हो ? उनीहरुको पौरखले कमाएका हुन् ? खान बस्न, लाउन, रोजगारीको ब्यवस्थापन त यी सरकारबाट जनताले सपनामा मात्र सोच्ने विषय भयो आज दुख पाएर लामो पैदल यात्रामा निस्की भाडा तिरेर आफ्नो परिवारलाई भेट्न जान्छौँ भन्दा पनि एउटा गाडी ब्यवस्था गरेर गन्तब्यमा पुर्याउन नसक्ने कस्तो बामपन्थी सरकार ? अरबौँ अरब भ्रष्टाचार गर्न हुने दुख पर्दा जनताको घाउमा लगाउने महलमपट्टी बाँध्न किन्न लागि एक सुका नहुने कस्तो सरकार ? कस्तो ओली सरकार ? कस्तो प्रचण्ड सरकार ?

मैले कतै कढेको थिएँ आवश्यक पर्दा ढुंगा पनि रुन्छ । हाँस्छ भनेर । तर यहाँ त प्राण भएर पनि यो सरकार बोल्न सक्दैन । ती दुखी आत्ममाथि यो सरकारले कुनै प्रतिक्रिया जनाउन सक्दैन । छि कस्तो लाचार, निरिह, अनि लाछी सरकार । यस्तो सरकारबाट भोलि के नै होला भनेर के को आशाको दियो बाल्नु ?

यसकारण आफ्नो राज्य रोम जल्दा त्यही आगोको रापमा बाँसुरी बजाएर मस्तसंग रमाउने निरो र लकडाउनका कारण दुखको भारी बोकी कम्मरमा पीडाको कन्नानी बाँधेर रुन्चे, थकित अनुहार लतारेर यात्रा गरिरहेका पैदल यात्रुको आत्मा नबुझ्ने ओली सरकार सारांसमा एउटै हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७ मंगलबार ००:००  ९ : १६ बजे