९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लक डाउनका कारण राजपुरका काँक्रा किसान मारमा, पछिल्लो तीन दिनमा ५ क्वीन्टन नोक्सान



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा–२ राजपुरका काँक्रा किसान चरम मारमा परेका छन् । लामो समयको लक डाउनका कारण विक्रि हुने तयारीमा रहेका ५ क्वीन्टल काँक्रा नोक्सान भएको जनाइएको छ ।
राजपुरमा न्यू झरना कृषि फर्म संचालन गरिरहनु भएका नारायण बन्जाडेले पछिल्लो ३ दिनमा आफूहरु धेरै मारमा परेको बताउनु भयो । राजपुरमा तीन जना मिलेर १३ कट्ठा खेतमा काँक्रा मात्र उत्पादन गरिरहनु भएको छ ।

फर्मका अर्का संचालक केशव सापकोटाले अहिले बारीमा एकै दिनमा ५ क्वीन्टलसम्म काक्रा उत्पादन गरेको भए पनि लकडाउनपछि सबै बिक्रि गर्न नसकिएको बताउनुभयो । उहाँले पछिल्लो समय नगरपालिकाले १० बजेपछि तरकारी तथा फलफुल विक्रिमा पनि कडाई गरेपछि थप मर्कामा परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “पछिल्लो दिनमा खासै विक्रि गर्न पाइएको छैन् । विहानको समय टिप्न समय लाग्छ । दिउसो बेच्न जान पाइदैन । साँझ पनि पाइदैन । अर्को विहान जाँदा कति बिग्रिसकेका हुन्छन् । कसरी बेच्नु ?”

फर्मका संचालक कुमार रास्कोटीले आफूहरुले उत्पादन गरेको काक्रा बेच्न नगरपालिकाले पनि खासै सहयोग नगरेको बताउनुभयो । उहाँले अहिले पनि बारीमा धेरै परिमाणमा काक्रा रहेकाले खरिद गर्ने नभएका सबै कुहिएर जाने भएकाले नगरपालिकाको ध्यानाकर्षण गराउनु भयो । रास्कोटीले लक डाउनमा आफूहरुकहाँ प्रशस्त मात्रमा काक्रा रहेकाले अन्त जान नपर्ने अवस्था रहेको बताउनु भयो ।

कृषकको यो गुनासो सुनिसकेपछि सोमबारमात्र वाणगंगा नगरपालिका, नगरको कृषि शाखा, कपिलवस्तु उद्योग बाणिज्य संघ र पत्रकारसहितको टोली त्यहाँ पुगी अनुगमन गरेको थियो । अनुगमनको क्रममा किसान मारमा परेको पाइएको छ ।

कृषकले यो गुनासो सुनाइसकेपछि नगरले पनि चिन्ता नगर्न अनुरोध गरेको छ । किसान साँच्चिकै मारमा परेको भए दिउसोमा बजारसम्म पुर्याउन आफूहरुले पहल गर्ने प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो,–“नगरले बाहिरबाट तरकारीहरु आयातमा कडाई गरेको छ । यस्तो अवस्थामा यति धेरै मात्रामा काँक्रा उत्पादन हुनु राम्रो कुरा हो । अनुगमनपछि सबै किसानका गुनासाअनुसार विक्रि वितरणको लागि केही महत्वपूर्ण निर्णय गछौँ ।”

अनुगमनमा जानुभएका नगर उप प्रमुख चक्र अर्याल, प्रवक्ता तथा सोही वडाका वडाध्यक्ष विष्णु पौडेल, उद्योग संघका अध्यक्ष उमानाथ पौडेल, कृषि शाखा प्रमुख लेस बहादुर कार्की, समाज सेवी डोलकराम घिमिरेले पनि कृषकका माग जायज रहेको भन्दै तुरुन्त विक्रि वितरणको ब्यवस्था गर्नु पर्ने बताउनुभयो । यसअघि पनि वाणगंगा नगरपालिका वडा नम्बर ११ का तरकारी किसानले पनि यस्तै गुनासो नगर समक्ष पोखेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ८ : ३४ बजे