९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विजयनगरले दोस्रो चरणको पनि राहत वितरण गर्‍यो, १४ सय ३२ घरपरिवार लाभान्वित



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सोमवार १४ सय ३२ घरपरिवारलाई दोस्रो चरणमा राहत वितरण गरेको छ । गाउँपालिकालले आजै ७ ओटै वडाहरुमा राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएको कारण कोरोना महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले लगाएको लकडाउनको चपेटामा परेका गरिब, विपन्न र गरी खाने मजदुर वर्गका घरपरिवारलाई सरकारले तोकेको मापदण्ड अनुसार खाद्यान्न वितरण गरेको भट्टराईले बताउनुभयो ।

भट्टराईले ४ वा सो कम सदस्य भएको घरपरिवारलाई १५ किलो चामल र ५ भन्दा बढी सदस्य भएको घरपरिवारलाई २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन र आधा किलो सोयाविन लगायत खाद्यान्न वितरण गरेको बताउनुभयो ।

राहत वितरण गर्ने क्रममा कुनै पनि नागरिक राहत पाउनैपर्ने अवस्था देखिएमा घरपरिवार निजलाई उपलब्ध गराउने साथै प्रथम चरणमा राहत पाएर पनि रासन सकिएका घरपरिवारलाई पुनः वितरण गर्ने जानकारी दिनुभयो ।

५ भन्दा बढी भएको १ हजार ४३ घरपरिवारमा र सो भन्दा कम भएको ३ सय ८९ घरपरिवार राहत वितरण गरिएको बताउनुभयो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षाकर्मी लगायतले राहत वितरण कार्यलाई सहयोग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ७ : ४१ बजे