शिव शर्मा ।
कोरोना भाईरस (कोभिड १९) का कारण अहिले विश्व थिलोथिलो भएको छ । विश्व मानचित्रलाई एकपटक घुमाएर हेर्ने हो भने कोरोनाले नछोएको देश भेटिन्न अर्थात २ सय १० बढी देशहरुलाई कोरोना भाईरसको संक्रमणले अस्तब्यस्त बनाएको छ । जुन जुन देशमा कोरोना फैलावट छ ती देशहरुको अर्थतन्त्र चौपट छ । अस्त ब्यस्त छ । यस्तो परिस्थितिमा अर्थतन्त्रको ‘डिस्कोर्स डबली’ मा अर्थतन्त्रका हिमायती देशहरु जस्तै अमेरिका, चिन, बेलायत, भारत, जापान, क्यानडा लगायतका सरकार प्रमुखहरु जुटिसकेको अवस्था छ ।
त्यतिमात्र होईन प्रत्येक देशका नागरिकहरु आफ्नो देशको भावी अर्थतन्त्र, भविष्य, सम्भावना र चुनौतीको बारेमा आ आफ्नो तवरले चिन्ता दर्शाउन थालेका छन् । यस्तो अवस्थामा विश्वको अर्थतन्त्र संगै जोडिएर आउने विकासोन्मुख मुलुक ‘नेपाल’ को भविष्य पनि के होला ? नेपालको अर्थतन्त्रको बक्र रेखा कता तर्फ बढ्ला ? छलफल गर्नु बाञ्छनीय देखिन्छ । कारण कोरोना महामारी र यससंग जोडिएको ‘लकडाउन’ ।
लकडाउन अर्थात् बन्दाबन्दी । कोरोना भाइरसको संक्रमणबाट जोगिने एक मात्र उपाय सामाजिक दुरी कायम गर्नु रहेको छ । त्यसैको कारण सामाजिक दुरी कायम गर्न अमेरिका बाहेक लगभग सबै देशहरुले लकडाउनलाई पालना गरेका छन् । जसका कारण विश्वभरको जनजीवन नराम्ररी प्रभावित भएको छ नै यसले मुख्य रुपमा अर्थतन्त्रमा ठुलो प्रभाव पारेको छ ।
कोराना भाईरसको संक्रमणको असरलाई विश्व अर्थतन्त्रमा हेर्ने हो भने यसलाई सन् १९३४ पछिको ठुलो आर्थिक मन्दिको रुपमा लिईएको छ । सन् २००८÷०९ को बित्तीय संकटभन्दा पनि बढी प्रतिकुल हुने बताईएको छ । नेपालमा पनि बिगत ३ बर्षदेखि लगातार ६ प्रतिशत भन्दा बढी आर्थिक बृद्धिद्धर भईरहेको अवस्थामा यस बर्षदेखि फेरी ‘ब्रेक’ लाग्ने अवस्था छ । बिश्व बैंकको तथ्यांक अनुसार यो बर्ष नेपालले कोरोना भाईरसको महामारीका कारण १.५ प्रतिशत देखि २ प्रतिशतले मात्रै आर्थिक बृद्धिदर हुने कुरा आंकलन गरेको छ ।
अन्तर्राष्ट्रिय मुद्राकोषले ९ दशकपछिको असमान्य अवस्थाको रुपमा ब्याख्या गर्दै आईरहेको छ । अन्र्तराष्ट्रिय ब्यापार, पर्यटन ब्यवसाय, बिप्रेषण, बैदेशिक लगानी, सेवा र सहायतामा हाम्रो सम्बन्ध प्रत्यक्ष स्थापित भएको र विश्व अर्थतन्त्रमा आएको मन्दिले नेपालको अर्थतन्त्रमा पनि प्रत्यक्ष प्रभाव पार्ने छ ।
अहिले नेपालमा पर्यटन ब्यबसाय पनि ठप्प भईरहेको अवस्थामा यससंगै जोडिएका होटेल ट्राभल, ट्रेकिङ ब्यवसायमा धेरै नै ठुलो नोक्सानी बेहोर्ने र बिशेषगरी नेपालको अर्थतन्त्रको आम्दानीको रुपमा हेरिंदै आएको पर्यटन ब्यबसायमा यसले गम्भिर असर पार्ने छ ।
देशको अर्थतन्त्रको पिल्लरको रुपमा काम गर्दै आएको विदेशी सहायता, प्रत्यक्ष बैदेशिक लगानी र देशको अर्थतन्त्रमा एक तिहाई योगदान गर्दै आईरहेको रेमिट्यान्समा पनि उल्लेख्य रुपमा गिरावट आउने कुरामा कुनै शंका छैन । तत्काल विकासका काम पनि ठप्प भएको हुँदा निर्माण कार्यमा प्रत्यक्ष असर पारिरहेको छ ।
अहिले सम्मको अवस्थालाई हेर्ने हो भने हाम्रो देश नेपाल दैनिक उपभोग्य बस्तुहरु, औषधी, कृषि तथा अन्य आवश्कीय बस्तुमा आयात लाई प्राथमिकतामा राखेको र परनिर्भरतामा गुज्रिरहेको अवस्था छ । हाम्रो देशले एक आपसमा अन्तर सम्बन्धित बित्तिय प्रणाली अवलम्बन गरेको, देशको उत्पादनमा भन्दा पनि मुल्यको हिसाबले सबैभन्दा सस्तो कुरामा ध्यान दिंदै आपुर्तिलाई बढवा दिंदै आईरहेको अवस्था बिद्यमान छ । देशको अर्थतन्त्रको हिसाबले हेर्ने हो भने यो अवस्था प्रभावकारी मान्न सकिंदैन । अहिलेको युग विश्व व्यापिकरणको युग हो भन्दै यसलाई मात्रै बढाउंदै लाने र भौगोलिकरण लाई नहेर्ने हो भने देशको अर्थतन्त्रमा ठुलो धक्का लाग्न सक्दछ ।
आगामी दिनमा राष्ट्र नै राज्य हो भन्ने नितिका साथ अगाडी बढ्नुपर्ने देखिन्छ । विकाशोन्मुख देशले आपुत्र्तिलाई नै बढी भन्दा बढि प्राथमिकतामा राख्ने हुनाले विश्व अर्थतन्त्रमा ठुलो हलचल मच्चिने र धनि देश र गरिब देश बिचको आर्थिक खाडल अझै बढ्ने देखिन्छ तसर्थ देशभित्र नै उत्पादनमुखी प्रणाली अवलम्बन गर्न एकदमै जरुरी छ ।
हाम्रो जस्तो देश जसको अर्थतन्त्र रेमिटान्स, बैदेशिक सहायता र बैदेशिक लगानीमा भरपर्दो आईरहेको अवस्थामा अब आगामी दिनमा यसमा ठुल्लो धक्का लाग्ने हुंदा अब केन्द्रिय सरकार, प्रदेश सकार र स्थानीय सरकारले उत्पादनमुखि प्रणाली अवलम्बन गर्दै यससंग सम्बन्धित सहज निति, नियमहरु बनाई अगाडी बढ्न विशेषरुपले जोड दिन आवश्यक छ ।
वर्तमान अवस्थालाई हेर्ने हो भने देशको लडाइ भन्दा पनि भाईरस संगको लडाइ अझ बढी खतरनाक र चुनौतिपुर्ण रहेको देखिन्छ । तसर्थ अबको युद्ध भाईरस संगको युद्ध पनि हुन सक्ने सम्भावना प्रशस्त मात्रामा भएको हुंदा कोरोना मात्रै होइन आगामी दिनमा अझ यो भन्दा खतरनाक भाइरस नआउला भन्न सकिंदैन । तसर्थ हामी प्राकृतिक कुरामा खलल नआउने किसिमले प्राकृतिक पर्याबरणको रक्षा गर्दै जलबायु परिवर्तन र कोभिड १९ जस्ता विभिन्न भाईरससंग सामना गर्न बिशेषगरी ओजन लेयरमा खलल नपुग्ने गरी उत्पादन क्षेत्रमा कम भन्दा कम शक्ति प्रयोग गर्दै बायुमण्डल र प्रकृतिलाई असर नपर्ने गरीे थोरै तर बढी उपयोगिता हुने उत्पादनमा बढी जोड दिन आवश्यक छ । हाम्रो देश कृषिको पर्याप्त सम्भावना भएको देश भएको हुँदा स्वास्थ्यबद्र्धक र आधुनिक कृषि प्रणालीमा पनि राज्यले बिशेष ध्यान दिन जरुरी देखिन्छ ।
सरकारले बित्तिय निति खुकुलो बनाउन जरुरी देखिन्छ । देशमै साना तथा मझौला उद्योगहरु संचालन गर्ने सहज वातावरणको श्रृजना गर्न आवश्यक देखिन्छ । जसको लागि कर्जामा सहुलिएत, कानुनी तथा कर नितिहरुमा विशेष रेखदेख गरी नयां ब्यापार तथा ब्यवसायीलाई प्रोत्साहन गर्ने नितिहरुको अबलम्बन गर्न अति नै आवश्यक छ ।
सरकारले बिशेषगरी नया आम्दानीको श्रोत पहिचान गरी, बैदेशिक लगानी भित्राउने कुरामा जोड दिनको लागि बैदेशिक नितिलाई खुकुलो बनाई देशमा भएको श्रोत साधनको अधिकतम प्रयोग गर्दै उद्योगधन्दा, कलकारखाना संचालन गरी, रोजगारीको श्रृजना गरी देशको अर्थ ब्यवस्थालाई उकास्न बिशेष जोड दिनुपर्दछ ।
कोरोनाको महामारीलाई परास्त गरीसकेपछिको अवस्थालाई हेर्ने हो भने हामीसंग प्रशस्त अवसरहरुको पनि श्रृजना हुने देखिन्छ । धेरै ब्यवसायहरु पुनः खोलिने र रोजगारदाता र रोजगारकर्ता बिचको ग्याप अझै बढ्न सक्ने अवस्थामा स्थानीय स्तरमा साना तथा मझौला उद्योगहरु स्थापना गरी प्रशस्त मात्रामा रोजगारीको श्रृजना गर्ने अवसर हामि संग हुनेछ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै श्रम शक्ति उथुलपुथुल हुने सम्भावना रहेको हुंदा यसलाई सहि दिशा दिई प्रयोग गर्न हामिसंग अवसर रहने छ । पटक पटक प्राकृतिक विपत्तिको रुपमा भुकम्प, बाढीपहिरो संगै नाकाबन्दी झेल्दै आएको अवस्थामा हामिले सिक्ने सबैभन्दा ठुलो कुरा आत्मनिर्भरता भएको र हामीसंग आत्मनिर्भरता बाहेक कुनै बिकल्प नरहेको अवस्था छ ।
जसको लागि परनिर्भरताबाट अब टाढा रही हामी संगै भएको प्राकृतिक श्रोत साधनलाई उपयुक्त ढंगले अधिकतम उपयोग गरी कृषि देखि दैनिक उपभोग्य सामान, स्वास्थ्य क्षेत्रमा प्रयोग हुने विभिन्न किट, औषधी, अध्यात्म, मेडिटेशनसंग सम्बन्धित पर्यटन ब्यवसाय र अन्य विभिन्न बस्तु तथा सेवा उत्पादनमा जोड दियौं भने विभिन्न बिपत्तिमा हामीले सहज ढंगले सामान गर्न सक्दछौं ।
लेखक शर्माले भर्खर ब्यवस्थापन विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी हाल नेपाल ल क्याम्पसमा कानुन विषय अध्ययन गरिरहनु भएको छ ।
प्रतिक्रिया