नवलपरासी ।
पश्चिम नवलपरासीका उखु किसान यतिखेर उखुको गोडमेल र सिँचाइमा व्यस्त हुनुपर्ने समय हो । तर उखु बेचेको भुक्तानी नपाउँदा उनीहरुको कामै रोकिएको छ । खर्च अभावमा किसान उखु गोडमल गर्न र कामदारलाई ज्याला दिन सकिरहेका छैनन् । अर्काेतिर कोरोना संक्रमणको त्रास र लकडाउनले दैनिकी अस्तव्यस्त छ ।
उता किसानकै उखु खरिद गर्ने मिलहरु भने यतिबेला धमाधम चिनी बिक्री गर्न व्यस्त छन् । मिल संचालकले किसानहरुको रकम समयमा उपलब्ध नगराउने त पुरानो रोग नै बनिसकेको छ । लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने र अन्य कुनै काम गर्ने अवस्था नभएको अवस्थामा चिनी बिक्री गरिरहेको मिलले किसानलाई केही रकम भुक्तानी गरिदिए पनि राहत महसुस हुने किसानहरुले बताएका छन् ।
लकडाउनको समयमा पनि सुस्ता २ कुडियामा रहेको बाग्मती सुगर मिलले चिनी, वकास र मोलासिस बिक्री गरिरहेको छ । चिनी लिन ट्रकहरु दैनिकजसो मिलमा आउने गरेका छन् । लकडानका कारण भारतबाट भन्सार छलेर पनि चिनी आउन नपाएपछि अहिले स्थानीय बजारमा पनि बाग्मतीकै चिनी बिक्री भइरहेको छ ।
मदिरा उत्पादनका क्रममा कच्चा पदार्थको रुपमा प्रयोग हुने मोलासिस लिन ट्यांकहरु मिलको गेटमा लामबद्ध देखिन्छन् । मिलले उत्पादन बिक्री गरिरहेको छ । तर किसानहरुको रकम भुक्तानी गर्नेतर्फ कत्ति पनि चासो दिएको छैन । अहिले तकरकारी किन्नदेखि बिरामी हुँदा उपचार गर्न पनि रकम अभाव भएको उखु किसान दीपक तेलीले दुखेसो पोखे ।
मिल संचालकले किसानसँग प्रतिक्विन्टल ४ सय रुपैयाँको दरमा पुर्जी खरिद गरेको थियो । जबकि यस वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ तोकेको थियो । त्यसमा मिलले दिने ४ सय ७१ रुपैयाँ र सरकारी अनुदानस्वरुप ६५ रुपैयाँ उपलब्ध गराइने भनिएको थियो । तर मिल संचालकले विभिन्न बाहना बनाएर सरकारबाट प्राप्तअनुदान समेत किसानलाई नदिने गरेको तेलीले गुनासो गरे । अर्का किसान केशव ज्ञवालीको दुखेसो पनि उस्तै छ ।
यस वर्ष प्रतापपुरमा रहेको इन्दिरा सुगर मिल किसानहरुको आन्दोलनका कारण संचालनमा आउन सकेन भने सुनवलमा रहेको लुम्विनी चिनी मिलमा पनि उखु क्रसिङ बन्द भइसकेको छ । पश्चिम नवलपरासीमा यसपटक बाग्मती सुगर मिलले मात्र किसानहरुको उखु खरिद गरेको थियो । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने रकम मिल संचालकले समयमा भुक्तानी नगरिदिदा निकै हैरानी खेप्दै आइरहेका छन् ।
प्रतिक्रिया