मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले पैदलयात्राको माध्यमबाट वाणगंगा प्रवेश गर्नेहरुलाई दैनिक यातायातको व्यवस्था गर्न थालेको छ । आइतबारदेखि थालेको अभियान सोमबार पनि जारी राखेको नगरपालिकाले जनाएको छ ।
सोमबार राजधानी काठमाडौंबाट पश्चिम जानका लागि हिडेका १ सय १५ पैदलयात्रुलाई शिवराज नगरपालिकाको बनकसिया लगेर छाडिएको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । ट्रकको सहयतामा पैदलयात्रुलाई लगेर छाडिएको पौडेलले बताउनुभयो ।
पैदलयात्रुहरु जुम्ला, दाङ, बर्दिया र कैलालीका रहेको उहाँले बताउनुभयो । लामो दुरीको बाटो तय गरेर वाणगंगा प्रवेश गरेका उनीहरुलाई वाणगंगाले उद्धार गरेको हो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनमा दैनिक ज्याला गरी खाने मजदुर मर्कामा पर्न थालेपछि धमाधम घर तर्फ फर्किरहेका छन । सरकारले जहाँको त्यहि बस्न आग्रह गरेपनि रासन सकिएर कसैले नहेर पछि घर तर्फ लाग्न बाध्य भएको मजदुरहरुले प्रतिक्रिया दिदै आएका छन् ।
सयौं किलोमिटर भोकै र प्यासै हिड्दा मजदुरहरु विरामी पर्न थालेका छन् । यो बेला वाणगंगाले केही भएपनि बाटो कम गराउने उद्धेश्यले यातायातको व्यवस्था गराएको हो ।
प्रतिक्रिया