९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगामा तरकारी खेतीको अनुगमन, प्रवक्ता पौडेल भन्छनः तरकारी विक्रीको समस्या देखेनौं



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्रका केही तरकारी फर्महरुको अनुगमन गरेको छ । किसानले उत्पादन गरेको तरकारी विक्री भएको छ कि छैन, वाणगंगा नगरभित्र तरकारीको माग धान्ने उत्पादन के छ भनेर नगरपालिकाको विशेष टोलीले तरकारी फर्महरुको अनुगमन गरेको हो ।

सोमबार नगर उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नगर प्रवक्ता विष्णु पौडेल, कृषि शाखा प्रमुख लेष बहादुर केसी, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल लगायतको टोलीले नगरभित्रका केही तरकारी फर्मको अनुगमन गरेको थियो ।

नगरभित्र व्यवसायिक रुपमा तरकारी खेती हुँदै आएका राजपुर, मधुवन र मोर्मीका ७ ओटा तरकारी फर्मको अनुगमन गरिएको नगर प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

७ फर्मको अनुगमन गर्दा तरकारीको विक्री राम्रै भएको र वाणगंगा क्षेत्र भित्रलाई लकडाउन अवधिभर प्रयाप्त तरकारी पुग्ने भेटिएको नगर प्रवक्ता पौडेलले दाबी गर्नुभयो । गत बर्ष यो सिजनमा टमाटरको खासै मूल्य नपरे पनि यो पाली राम्रै मुल्यमा बेचविखन गरिरहेको किसानले बताएको उहाँले बताउनुभयो ।

विशेष गरी नगरपालिका भित्र लौका, करेला, घिरौला, टमाटर, बन्द गोभि, काँक्रा लगायतका तरकारी रहेको उहाँले बताउनुभयो ।

वाणगंगाले भारतबाट आयातित तरकारी बेचविखन गर्न नगर भित्र प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमणको भयले नगरभित्र भारतीय तरकारी बेचविखनमा प्रतिबन्ध लगाइएको हो । नगरभित्र उत्पादन भएका तरकारी बाहिर लगेर बेच्ने स्थिती नभएकाले नगरबासीलाई आफ्नै नगरभित्र उत्पादन भएको तरकारी खान सरोकारवालाले आग्रह गरेका छन् ।

साथै वाणगंगाले तरकारी बेचविखनमा समस्या परे यसको व्यवस्थापन गरिदिने भएको छ । नगरभित्र कसैलाई तरकारी बेच्न समस्या भएको भए नगरको कृषि शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ५ : १८ बजे