९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाहिरी जिल्लाबाट आयात गरिएको तरकारी, मासु र अण्डा अर्घाखाँचीमा प्रतिबन्ध



अर्घाखाँची ।
जिल्लामा बाहिरी जिल्लाका तरकारी, फलफुल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको जोखिमबाट बच्न र बचाउन भन्दै अन्तर जिल्लाबाट हुने तरकारी, दूधजन्य पदार्थ, मासुजन्य पदार्थको खरिद तथा बिक्रीमा रोक लगाएको हो ।

व्यापारीहरुले तराईका जिल्लाको नाम दिँदै भारतबाट तरकारी, फलफुल, मासु र अण्डा जिल्ला भित्र्याएर बेच्ने गरेका कारण कोरोना भित्रने भन्दै सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले खरिद बिक्रीमा प्रतिबन्ध लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताउनुभयो ।

अर्घाखाँची जिल्लाका सांसदहरूले कोरोना भाइरस नियन्त्रण र जिल्लाको अवस्थाबारे बारे जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग बैठक गरेर निर्णय गरेको हो ।

छलफलमा अर्घाखाँचीमा कोरोना भाइरस नियन्त्रणको निम्ति गरिएका प्रयासहरु, स्वास्थ्य सामग्रीको अवस्था,दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति , विकास निर्माणलगायतका विषयमा छलफल भएको प्रदेश सांसद चेतनारायण आचार्यले बताउनुभयो ।

छिमेकी देश भारत र नेपालको सीमा नाकाहरुमा रहेका जिल्लावासीहरुको स्वास्थ्य उपचार र गाँसबासको उचित प्रबन्ध गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  १ : ५२ बजे