९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाकिस्तानमा सामूहिक नमाज पढिने, इस्लामिक समूहसामु झुक्यो सरकार



एजेन्सी ।
पाकिस्तान सरकारले इस्लामिक समूहसामु झुक्नुपरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न रमजानको महिनामा पाकिस्तानले मस्जिदहरूमा सामूहिक रूपमा नमाज पढ्न प्रतिबन्ध लगाएको थियो । तर, अन्तिम समयमा आएर सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको छ ।

यसै साता विश्वभर रमजानको महिना सुरु हुँदै छ । रमजानको महिनमा बेलुकी विश्वभरका मुसलमान मस्जिदमा एकसाथ नमाज पढ्ने गर्छन् ।

धार्मिक नेताहरूसँग भएको सहमतिअनुसार पाकिस्तानमा ५० वर्षभन्दा बढी उमेरका मानिस, बालबालिका र फ्लूको लक्षण देखिएका व्यक्तिलाई मस्जिदमा प्रवेश नदिइने बीबीसीले जनाएको छ ।

पाकिस्तानका मस्जिदहरूमा कार्पेट हटाइएको छ । मस्जिदको भुइँ हरेक दिन सफा राखेर नमाज पढ्नेहरूका बीचमा उचित दूरी कायम गरिने भएको छ । उनीहरूलाई ‘फेस मास्क’ प्रयोग गर्न, हात नमिलाउन र एक–अर्कालाई अँगालो नहाल्न भनिएको छ ।

सरकारले गाइडलाइन तोडे मस्जिद खोल्न दिने निर्णयमाथि पुनर्विचार गरिने पनि बताएको छ । यसअघि पाकिस्तानमा अनिश्चितकालसम्मका लागि मस्जिदमा नमाज पढ्न प्रतिबन्ध लगाइएको थियो । यद्यपि, सरकारी निर्देशनको पालना भने भइरहेको थिएन । (बीबीसी)

प्रकाशित मिति : ८ बैशाख २०७७ सोमबार ००:००  ११ : ५२ बजे