मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको जिल्ला विपद् व्यवस्थापन समितिको तौलिहवामा आइतबार बसेको वैठकले लकडाउनलाई अझ व्यवस्थित बनाउँदै ७ बुँदे निर्णय गरेको छ । वैठकले कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन १० वटै स्थानीय तहमा निर्माण भएका क्वारेन्टाइन वेडलाई यथावत राख्ने जनाएको छ । जिल्लामा रहेका एक हजार १२ क्वारेन्टाइन वेडलाई अर्को निर्णय नहुँदासम्म यथावत राख्ने भएको हो ।
वैठकले चैत्र २१ गते गुगौलीमा भएको आगलागीबाट पिडित परिवारका लागि आवश्यक राहत उपलब्ध गराउन प्रदेश नं. ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ भने जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुलाई आवश्यक मास्क, पन्जा, सेनिटाइजर उपलब्ध गराउन १० वटै स्थानीय सरकारले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
त्यस्तै पछिल्लो समय कोरोना महामारी र गर्मीयामका कारण आगलागीका घटना हुन सक्ने भन्दै १० वटै स्थानीय तहका एम्वुलेन्स र दमकल तयारीको अवस्थामा राख्ने निर्णय भएको जिल्लामा २ वटा दमकल चालु अवस्थामा भएकाले आगलागीका घटना बढ्न सक्ने भएकाले स्थानीय सरकारले विग्रेका दमकल तत्काल बनाएर चालु अवस्थामा ल्याउनुपर्ने बताइएको थियो ।
त्यस्तै पछिल्लो समय प्राकृतिक श्रोत साधन माथिको चोरी निकासी नियन्त्रण हुन सुरक्षा निकाय तथा स्थानीय निकायले निगरानी राख्नुपर्ने निर्णय गरेको छ भने स्थानीय पालिकाले सरकारले तोकेको मापदण्ड बमोजिम एकद्धार प्रणालीद्धारा राहत बढाउने निर्णय भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै कृषकहरुले गहु खेती भित्राएसंगै खेतमा रहेको छवाली नलमा आगो लगाउने क्रम बढेकाले त्यसलाई रोकथाम गर्न सचेतना गर्दै स्थानीय पालिकाले निगरानी राख्ने बताइएको छ । वैठकमा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोखरेलले राष्ट्रिय संकटका बेला प्राकृतिक श्रोत साधन माथि चोरी तस्करी हुने गरेकाले संरक्षणमा सवै निकाय सकृय हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष पोखरेलले स्थानीय तहमा राहत वितरणमा एकद्धार प्रणाली अपनाएर सवै गरिब विपन्न मजदुर परिवारलाई राहत सहयोग गर्नुपर्ने बताउनुभयो । वैठकमा जिल्ला स्थित सुरक्षा निकाय, पालिकाका प्रमुख, कार्यालय प्रमुख, राजनितिक दलका प्रमुख नेपाल पत्रकार महासंघ लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया