मायादेवी अनलाइन, चारनम्बर ।
दैनिक अत्यावश्यकीय सामान खरिद विक्रिमा पनि कडा गरिएको बाणगंगा नगरपालिकामा केही अनियमितता देखिएको छ भने धेरै स्थानमा नगरको निर्णय कार्यान्वयन भएको देखिएको छ ।
बाणगंगा नगरपालिका, कपिलवस्तु उद्योग बाणिज्य संघ र सरोकारवालाको संयुक्त अनुगमन टोलीले शनिबार विहानभर नगरको वडा नम्बर ९, १० र ११ मा अनुगमन गरेको थियो । अनुगमनको क्रममा वडा नम्बर ९ मा दैनिक उपभोग्य वस्तुमा कुनै समस्या नभएको भेटिएको छ भने अत्यावश्यक पसल पनि विहान ७ बजे खुल्ने र १० बजे नै बन्द हुने गरेको भेटिएको हो ।
वडाध्यक्ष ध्रुव बेलबासेले आफ्नो वडामा भए गरेका गतिविधिबारे अनुगमन टोलीसंग ब्रिफिङ गर्नुभएको थियो । उहाँले विहानदेखि नै आफू फिल्डमै रहेर नगरको निर्णय कार्यान्वयन गराउन लागेको बताउनु भयो । उहाँले आफ्नो वडाको लागि बाहिरबाट तरकारी ल्याउन नपर्ने र लकडाउन अवधिभर नगर बाहिरबाट आउने तरकारीमा निगरानी बढाएको बताउनु भएको थियो ।
यद्यपी भलवाडको एक ब्यापारीले भने सिमेन्टको मुल्यमा बदमासी गरेको अनुगमनको क्रममा पाइएको छ । एउटै सिमेन्टको २ मितिमा २ फरक मुल्य कायम गरेको बिल भेटिएपछि अधिकारी इन्टरप्राइजेजलाई स्पष्टिकरण समेत सोधिएको छ । उनले भुलवस त्यो त्रुटी हुन गएकोमा क्षमा माग्दै आगामी दिनमा गल्ती नदोहार्याउने प्रतिवद्धतापछि छोडिएको छ ।
यता वडा नम्बर १० को मेचपुरी, भड्डीहवा, वडा नम्बर ११ को बरवा, भडसडहवा लगायतका किराना, तरकारी पसल र ग्याँसमा पनि शनिबारै अनुगमन भएको थियो । वरवामा भारतीय ब्यापारीले रातको समयमा तरकारी ल्याउने गरेको स्थानीय समाजसेवी कमल चुँदालीले बताउनु भयो । अन्य ब्यापारीले बदमासी नगरेको बताउँदै भारतीय बजारबाट आउने तरकारीमा कडाई गरेमा समस्या नरहेको उहाँले बताउनु भयो ।
यस्तै वडा नम्बर ११ को भडसडहवामा रहेको एक कृषि नर्सरीमा गई त्यहाँको उत्पादनको बारेमा पनि जानकारी लिइएको छ । नगरबाहिरबाट तरकारी आयातमा निषेध गरिएपछि नगरभित्र संचालन भएका कृषि फर्ममा तरकारी उत्पादनको अवस्था कस्तो छ भनेर जानकारी लिइएको हो ।
भुसाल टोलको शारदा नर्सरीको अनुगमन गर्ने क्रममा नर्सरीले लक डाउन अवधिभर उपभोक्तालाई चाहिने बन्दा, टमाटर, काक्रो, घिरौँला, लौका, खुर्सानी अभाव हुन नदिने र नगरपालिकाले बजार ब्यवस्थापन गरिदिनु पर्ने नर्सरीका छविलाल पौडेलले बताउनु भयो । उहाँले आफ्नो नर्सरीमा दैनिक २ क्विन्टल तरकारी उत्पादन क्षमता रहेकाले आवश्यक पर्दा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।
यता विहानको समयमा चार नम्बरमा भने झोले तरकारीवालको विगविगी बढेको पाइएको छ । तिनचार मोटरसाइकलमा बोराभरी झुण्डाएर दक्षिणतिरका ब्यापारीले चार नम्बरमा ल्याएर बेचेको देखेपछि स्थानीयले अनुगमन टोलीलाई जानकारी गराएका थिए । त्यसपछि टोली चार नम्बरमा आएर त्यसबारेमा बुझेको थियो । त्यहाँ झोले ब्यापारीलाई रंगेहात भेटेपछि बाटोबाटै खेदिएको छ ।
रामघाटतिरबाट तरकारी ल्याएको बताएका उनीहरुले भारतीय बजारबाट तरकारी ल्याएको हुन सक्ने र त्यसले नगरमा कोरोनाको जोखिम बढाउन सक्ने भएपछि तरकारीसहित फिर्ता पठाइएको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनु भयो ।
साथै त्यस्ता ब्यापारीबाट तरकारी खरिद गर्ने पसलेलाई पनि आगामी दिनमा खरिद नगर्न चेतावनी दिँदै त्यसो भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिइएको नगर उप-प्रमुख चक्र अर्यालले बताउनु भयो ।
अनुगमनमा अर्याल र पौडेलसंगै बाणगंगा यातायात ब्यावसायी समितिका अध्यक्ष विष्णु न्यौपाने, समाजसेवी डोलकराम घिमिरे, उद्योग संघका विनोद पन्त र संचारकर्मीसहितको टाली रहेको छ । टोलीले अब केही दिनपछि छड्के अनुगमन गर्ने जनाइएको छ ।
प्रतिक्रिया