९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्



काठमाडौं ।
कोरोना संक्रमित काठमाडौंकी युवती संक्रमण मुक्त भएर घर फर्किएकी छन् । काठमाडौंकी १९ वर्षीया ती युवती प्रशिद्धि श्रेष्ठ टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी हुन् । काठमाडौंको मैतीदेवी निवासी उनी कोरोना संक्रमणबाट मुक्त भएपछि शनिबार डिस्चार्ज भएर घर फर्किएकी हुन् ।

उनलाई परिवारका सदस्यले घर लिएर गएका हुन् । गत ४ चैतमा फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको उडान नम्बर ६५२ बाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड-१९ पोजेटिभ देखिएको थियो । त्यसपछि उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो ।

पछिल्लो पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शनिबार टेकु ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । उनको पछिल्लो स्वाब रिपोर्टमा संक्रमण नदेखिए पछि डिस्चार्ज गरिएको हो । टेकु अस्पतालमा डा. अनुप बाँस्तोलाका अनुसार कोरोना भाइरसको संक्रमणमा परेकी १९ वर्षीया युवतीको परिवारका सदस्यहरुको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वाथ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीसँग सम्पर्क भएका परिवारका ६ सदस्यको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको थियो । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै फर्किएकी युवतीसँग यात्रा गरेका १५८ जना यात्रुको विवरण प्रहरीले लिइसकेको छ । उनीसँग एउटै जहाजमा सवार १५८ यात्रुलाई प्रहरीले सम्पर्क गरेर क्‍वारेन्टाइनमा राखेको छ ।

चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको बिमानमा आएकी उनलाई कोभिड पोजिटिभ देखिएपछि टेकू अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । कतारको उडान नम्बर ६५२ मार्फत आएका उनीसहित तीन यात्रुलाई कोरोना भएको थियो । उनी कोभिड-१९ पोजेटिभ पुष्टि भएको २७ दिनपछि डिस्चार्ज भएकी हुन् ।

यसअघि नेपालमा पहिलो कोभिड-१९ चीनको बुहानबाट फर्किएका पुरुष निको भएर घर फर्किसकेका छन् । उनलाई जनवरी २३ तारिखमा कोरोना पुष्टि भएको थियो । अहिलेसम्म नेपालमा ३० जनामा कोरोना देखिइसकेको छ । जसमा सबैभन्दा धेरै उदयपुरको मस्जिदमा बसेका १२ जनामा कोरोना पाइएको छ ।

नेपालमा कोरोन भेटिएकामध्ये १२ जनाको बिराटनगरमा, पाँचजनाको सेती अस्पतालमा, चारजनाको वीरगञ्जस्थित नारायणी क्षेत्री अस्पतालमा, २ जनाको बागलुङमा र एकजनाको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७७ शनिबार ००:००  २ : ४१ बजे