विराटनगर ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका उदयपुरको एक मस्जिदबाट ल्याइएकाहरुको कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार सुरु गरिएको छ । ११ भारतीय र एकजना नेपालीलाई उदयपुरबाट मध्यराति एम्बुलेसन्समा ल्याएर उक्त केन्द्रमा भर्ना गरिएको थियो ।
प्रदेश १ सरकारले स्थापना गरेको उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सुविधासहितको उपचार व्यवस्था गरिएको छ। उदयपुर त्रियुगा नगरपालिका ३ को भुल्केस्थित मस्जिदमा उनीहरुसँगै बसेका अरु चार जनालाई पनि राति नै विराटनगर ल्याइएको छ।
कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राका अनुसार संक्रमित १२ जनालाई उक्त अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार सुरु गरिएको छ। संक्रमण पुष्टि नभएका अरु चारजनालाई भने मोरङको टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा पठाइएको छ।
चिकित्सकका अनुसार सुरुमा उनीहरुको आरडिटी विधिबाट परीक्षण गर्दा संक्रमण देखिएको थिएन। पछि कोसी अस्पतालमा स्वाब नमुना परीक्षण गर्दा संक्रमण देखिएपछि थप पुष्टिका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो। त्यहाँको परीक्षणबाट उनीहरुमा संक्रमणको पुष्टि भएको हो।
डा. मिश्राले कोरोना संक्रमितको उपचारको चुनौती सुरु भएको उल्लेख गरेकी छन्। ‘१२ जनालाई कोभिड १९ उपचार केन्द्रमा भर्ना गरेर उपचार सुरु गरिएको छ’ उनले राति आफ्नो फेसबुक पेजमा उल्लेख गरेकी छन्, ‘बेला अप्ठ्यारो हो तर हामी सबै मिलेर सामना गर्न सक्षम हुनेछौं।’
संक्रमित व्यक्तिहरुको लक्षण अनुसार उपचार गरिने केन्द्रका चिकित्सकले बताएका छन्। जनरल वार्ड, आईसीयू, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने जनाइएको छ। संक्रमितको अवस्था कस्तो छ र कुन चरणबाट उपचार थालिने भन्ने उनीहरु आएपछि हुने थप परीक्षणबाट थाहा हुने चिकित्सकको भनाइ छ।
६ बैशाख २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया