एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको वास्तविक संख्या निकै बढी भएको दाबी गरेका छन् ।
उनले ट्विटमा लेखेका छन्, ‘यो अज्ञात शत्रुबाट मृत्यु हुनेको संख्या चीनले अचानक बढाएर दुई गुणा बनाएको छ । तर त्यहाँ मृत्यु हुनेको संख्या यो भन्दा बढी छ । यो अमेरिकामा भइरहेको मृत्युभन्दा पनि केही बढी छ ।’ यसअघि शुक्रबार चीनले हुवेई प्रान्तमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्यामा १ हजार २९० जना थप गरेको थियो । यसका साथै हुबेईमा मृत्यु हुनेको संख्या ३ हजार ८६९ भएको थियो भने समग्र चीनमा मृत्यु हुनेको संख्या ४ हजार ६ सयभन्दा बढी भएको थियो ।
अधिकारीहरुले जेल र शवगृहबाट मृत्यु हुनेको तथ्यांक प्राप्त भएर थप गरेको जनाएका छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म चीनमा करिब ८४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये करिब ७८ हजार निको भइसकेका छन् । कोरोना भाइरसबाट चीनमा मृत्यु भएकाको तथ्यांकलाई लिएर अमेरिकासहित पश्चिमा राष्ट्रले प्रश्न उठाउँदै आएका छन् ।
प्रतिक्रिया