९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दाङमा भारतसँग जोडिएका सबै नाका बन्द



दाङ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न तथा सीमा नाकामा सुरक्षा व्यवस्था थप सुदृढ गर्न भारतसँग सीमा जोडिएका दाङका सबै नाका अनिश्चितकालका लागि सिल गरिएको छ ।

यसअघि जिल्लामा १० ठूला नाकाहरुमध्ये सात नाका सिल गरिएकोमा आज शुक्रबारबाट थप ३ नाका पनि सिल गरिएसँगै दाङका सबै नाका पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार भारतसँग सीमा जोडिएको प्रमुख नाका रुपमा रहेका कोइलाबास नाकासहित साना ठूला गरी ३१ नाका अब अनिश्चितकालका लागि बन्द भएका हुन् । जिल्लाको ८३ किलोमिटर क्षेत्रमा रहेका नाकाहरुमा सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

केही समयअघि मात्रै नेपाल-भारत सीमा जोडिएका दाङका मुख्य नाकाहरु कोइलाबास, भौवा, खंग्रा, पटौली, गुङखोला, भौरीसाल, सुनपथरी गरी सात नाकामा सशस्त्र प्रहरीको क्याम्प खडा गरी परिचालन गरिएको छ । आजबाट डगमारा नाका, खबरी र भैंसाही नाकामा पनि सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बाह्रखरीलाई जानकारी दिए ।

उनले भने, ‘’कोरोना भाइरसको संक्रमण रोकथामसँगै लकडाउनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि पनि नेपाल भारत सिमा नाका पूर्ण बन्द गरेका छौं, साना ठूला गरी ३१ नाकाहरु अब अर्को सूचना नभएसम्म पूर्ण रुपमा बन्द भएका छन् ।’

उनका अनुसार प्रत्येक क्याम्पमा ३०-३५ जनाको युनिट खडा गरी सशस्त्र प्रहरी बल सीमा सुरक्षार्थ खटाइएको छ । जिल्लामा उपलब्ध स्रोत साधन र आवश्यकताका आधार जनशक्ति थप गर्दै लगिनेछ । बन्द गरिएका नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाफोर्स राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोइलाबासलगायत केही नाकामा भने नेपाल प्रहरी पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  २ : १५ बजे