लुम्बिनी ।
रुपन्देहीको समरीमाई ६ का किसान कपिल केवटलाई कोभिड –१९ भन्दा तरकारी बिक्री नभएको चिन्ताले धेरै दिन तर्सायो । सब्जी बिक्री नभएकै कारण कहिले वडा त कहिले गाउँपालिकामा समस्या लिएर दौडधुप गरिरहेका केवट दुई दिनदेखि भने ढुक्क छन् ।
कृषक केवटको खेतबारीमा बिक्रीका लागि तयार भएका सबै तरकारी सोमबारदेखि गाउँपालिकाले मन्जरिया तरकारी संकलन केन्द्रमा ल्याउन सबै किसानलाई आग्रह गरेको छ । यससँगै किसानले राहत महसुस गरेका छन् । लकडाउनका कारण बिक्री नभएको तरकारी गाउँपालिकाले उचित मूल्यमा खरीदबिक्री गर्ने प्रबन्ध मिलाएपछि किसानलाई राहत भएको हो ।
केवटले भने ‘‘हामी किसानलाई दुईचार किलो चामल, तेल, दाल दिनुभन्दा हामीले उत्पादन गरेको तरकारी समयमै उचित मूल्यमा बिक्री भए हुन्छ । दुई हप्ता समस्या नै भयो । अब समस्या हुँदैन होला ।”
गाउँपालिकाले किसानको तरकारी बिक्री गर्ने व्यवस्था मिलाएपछि केवट झैँ स्थानीयवासी कृषक शेषनाथ यादव पनि खुशी छन् । उनको आम्दानीको मुख्य स्रोत नै तरकारी उत्पादन हो । यतिबेला उत्पादन भइसकेको तरकारी बिक्री नहुँदा चिन्तित कृषक यादवको तरकारी बिक्री हुन थालेपछि चिन्ता हराएको छ । उनले भने, “अब यही संकलन केन्द्रबाट बिक्री हुन थालेको छ । केही दिन चिन्ता भयो । अब चाहिँ खुशी लागेको छ ।”
गाउँपालिका अध्यक्ष जितेन्द्र शुक्लाले तरकारी किसानको समस्या बुझेपछि गाउँमा बिक्रीको व्यवस्था गरिएको बताए । उनले भने, “सबै किसानले मन्जरिय तरकारी संकलन केन्द्रमा तरकारी ल्याउनुपर्छ, चलेको मूल्यमा उहांँहरुको सबै तरकारी बिक्री हुन्छ ।”
मर्चवार क्षेत्रका किसानको उत्पादनको मुख्य बजार नै बुटवल र भैरहवा हुन् । लकडाउनका कारण हिँडडुल गर्न नपाउँदा र मुख्य बजारका तरकारी खरीद केन्द्र बन्द भएकाले किसानको उत्पादन बिक्री रोकिएको हो । गाउँपालिका अध्यक्ष शुक्लाले पहिले सामान्य अवस्थामा जस्तो भैरहवा र बुटवलका व्यापारी किसानका उत्पादन खरीद गर्न आउन नसक्ने र किसान पनि बिक्री गर्न जान नसक्ने अवस्था आएपछि गाउँपालिकाले गाउँमै बिक्रीको व्यवस्थापन गरेको बताउँछन् । गाउँपालिकाले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसँंगको छलफलपछि किसानलाई आफ्ना उत्पादनको बिक्री गर्न र तयार भएको गहुंँ स्याहार्न सामाजिक दूरी कायम गरेर गर्न आग्रहसमेत गरेको छ ।
मुख्यमन्त्री पोखरेलले किसानलाई बाली स्याहार्ने काममा पालिकाले सुरक्षा सतर्कतासहित सहयोग गर्न निर्देशन दिएका छन् । रासस
प्रतिक्रिया