९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

दुई चरणमा आज बाणगंगाका बजारको अनुगमन, १० बजेपछि पसल खोल्नेलाई चेतावनी



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघ सहितको टोलीले शुक्रबार नगरपालिका भित्रका बजारको अनुगमन गरिएको छ । विहिबारदेखि बजारमा कडाई गर्ने नगरपालिकाको निर्णय पछि आज २ चरणमा बजारका अत्यावश्यक पसलको अनुगमन भएको हो ।

अत्यावश्यक वस्तु तथा दैनिक उपभोग्य वस्तु विक्रिवितरणका लागि विहान ७ बजेदेखि १० बजेसम्म समय निर्धारण गरिएपछि भएको अनुगमनका क्रममा धेरैले नगरको निर्णय कार्यान्वयन गरेको पाइएको छ ।

नगर उप-प्रमुख चक्रपाणी अर्याल, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, संघका पूर्व अध्यक्ष यज्ञ भट्टराई, समाजसेवी डोलकराम घिमिरे, बाणगंगा यातायात ब्यावसायी समितिका अध्यक्ष तथा संचार उद्यमी विष्णु न्यौपाने, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, हर्टविट एफएमका कार्यबाहक ब्यवस्थापक हरि घिमिरे सहितको टोलीले पिपरा वैरिया, चार नम्बर, गजेहडा, ओदारी, पचेहरा, कोपवा, बनगाई, बोडगाउँका पसलको अनुगमन गरेको थियो ।

पहिलो चरणमा विहान खोलिएका पसलमा अनियमितता भएको छ या छैन ? नगरबाहिरबाट आएका तरकारी र फलफुलको अवस्था कस्तो छ ? भन्ने लगायतमा अनुगमन भएको थियो भने दोश्रो चरणमा १० बजेपछि पसल बन्द गर्ने निर्णय कत्तिको कार्यान्वयन भएको छ भनेर अनुगमन भएको थियो । कोपवा, ओदारी, पचेहराका भित्री बाटोमा केही पसलहरु फाट्टफुट्ट विहान १० बजेपछि खोलिएका थिए भने अधिकांसले नगरको निर्णय कार्यान्वयन गरेका पाइएको छ ।

नियम बाहिर रहेर पसल खोल्नेलाई अहिले सम्झाइबुझाई गरिएको छ भने अटेरी गरेर पुनः संचालन गरिएको पाइए कारबाही गर्ने चेतावनी दिइएको उद्योगा बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाका उप प्रमुख चक्र अर्यालले नगरले जनताकै लागि यो निर्णय गरेकाले इमान्दार भएर पालना गर्न सुझाव दिनुभयो । यस्तै नगरले दैनिक उपभोग्य वस्तु अभाव हुन नदिने बिभिन्न स्थानमा पसल निर्धारण गरेको छ । त्यहाँ गएर उपभोक्ताले विहानको समयमा आफुलाई चाहिएको सामान खरिद गर्न सक्ने छन् ।

लक डाउनको बेला नगरबासीलाई कुनै सामानमा समस्या भएमा तुरुन्त सम्पर्क गर्न पनि अर्यालले सबैलाई भन्नु भएको छ । लकडाउन अवधिभर नगरको निर्णय कत्तिको कार्यान्वयन भएको छ छैन अनुगमन गर्न सम्बन्धित वडाध्यक्ष र उद्योग संघका प्रतिनिधिलाई खटाइएको छ ।

यो अनुगमन लकडाउन अवधिभर जारी रहने नगर प्रवक्ता विष्णु पौडेलले बताउनु भयो । नगरले यो अवस्थामा बाहिरबाट आएका तरकारी, फलफुल या अन्य चीजहरु पनि सेवन नगर्न सबैमा अनुरोध गरेको छ । कसैले मनोमानी गरी नगरबाट प्रतिबन्धित भएका वस्तुहरु विक्रि, वितरण गरेको पाइए सूचना दिन पनि अराइएको छ । जनताको सूचनाको आधारमा त्यस्ता ब्यापारीहरुलाई कडा कारबाही गरिने नगरले जनाएको छ ।

पछिल्लो समयमा भारतमा कोरोनाको फैलावट तीव्र गतिमा भएकाका कारण नेपालमा पनि कोरोना संक्रमण बढिरहेको छ । त्यसको जोखिम नगरमा पनि बढेकाले अत्यावश्यक वस्तुको विक्रि वितरणमा पनि कडाई गरिएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  १२ : ३८ बजे