१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना भाइरसः भारतमा सङ्क्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु



एजेन्सी ।
भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार ४ सय ८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ४७७ कोरोनाका सङ्क्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमित हरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्रमा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र सङ्क्रमित हरुको संख्या १९ जना थपिएपछि २ हजार ९१६ जना पुगेको बिहीबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच महाराष्ट्रमा २९५ जना निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १८७ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी सङ्क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५७८ जना सङ्क्रमित रहेका छन् । नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३२ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ४० जना भने उपचारपछि घर फर्किएका छन् ।भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सङ्क्रमित हरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या बिहीबार १ हजार २४२ जना पुगेको छ । यी सङ्क्रमित मध्ये ११८ जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भईसकेको छ ।

राजस्थानमा १ हजार भन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । राजस्थानमा १ हजार २३ जना कोरोना संक्रमति रहेका बिहीबार बिहानको प्राप्त समाचारका जनाइएको छ । ती मध्ये १४७ जना उपचारपछि घर फर्किसकेका छन्, भने तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतको मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका सङ्क्रमित हरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै सङ्क्रमित भेटिएका समाचारमा जनाइएको छ । –राससको सहयोगमा

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ६ : ४८ बजे