१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगा नगरपालिकामा बाहिरी आवागमन ठप्प, नाकानाकामा प्रहरी तैनाथ



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा बाहिरी आवागमन ठप्प भएपछि वातावरण थप सुनसान बनेको छ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेका घटना बाहिर आएसंगै नगरमा जोखिम बढ्न सक्ने भएकाले नगरले कठोर निर्णय लिँदै आजबाट कुनै पनि नाकाबाट नगरमा प्रवेश गर्नेमाथि कडाई गर्ने जनाएको थियो । सो निर्णय लागु भएसंगै विहिबार विहानैबाट नै नगरका सबै भित्री र बाहिरी रोडहरु थप सुनसान बनेका छन् ।

यसअघि लक डाउन भए पनि सवारीहरु फाट्टफुट्ट आवतजावत भइरहे पनि आजबाट भने अत्यावश्यक काम बाहेक कोही पनि बाहिर निस्केका पाउने छैनन् । नगरको यो निर्णयलाई कार्यान्वयन गर्न पूर्वको कोठी नदी, पश्चिमको कोइली बनगाई, दक्षिणमा ओदारी लगायतमा प्रहरी परिचालन गरिएको छ ।

नियम उलंघन गर्दै आउनेलाई सोधपुछ गरी प्रहरीले फर्काउने काम पनि गरेको छ । यस्तै नगरका भित्री सडकहरुमा पनि निगरानी बढाइएको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर आयूष प्रसाद जोशीले जानकारी दिनुभयो ।

सिमा नाकामामा प्रहरीको साथमा जनप्रतिनिधि पनि खटिने नगरपालिकाले जनाएको छ । यस्तै नगरले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेशमा कडाई गरेको छ । कोरोना संक्रमणको जोखिमलाई कम गर्न यस्तो गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले जानकारी दिनुभयो । हिजो अस्ति दिउसो र साँझ बजारमा सामान्य हिाँडडुल भए पनि विहिबार आज भने त्यस्तो देखिएको छैन ।

इन्सपेक्टर जोशीले यसलाई सामान्य रुपमा नलिन पनि सबैलाई अनुरोध गर्दै नियम उलंघनको छुट कसैलाई नभएको बताउनु भयो । प्रहरीले विहान र साँझ मानिसहरु बढी बाहिर निस्कने भएकाले अत्यावश्यक काम बाहेक कसैलाई पनि बाहिर ननिस्कन अनुरोध गरेको छ ।

यद्यपी अलपत्र भई पूर्वपश्चिम राजमार्ग हुँदै आएकाहरुलाई भने विशेष ब्यवस्था गरेर गन्तव्यमा जान दिइने छ । नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य संघले खाद्यान्ह तरकारी, फलफुल, दूध र अन्य अत्यावश्यक सामाग्रीका पसललाई पनि विहान मात्र खुल्न दिने र दिउसो साँझ पूर्ण रुपमा बन्द गर्ने निर्णय भएका कारण पनि बजार हिजो अस्तिको तुलनामा सुनसान भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ३ : ५२ बजे